जनकपुरधाम । चाडपर्वको समयमा जुवातास नियन्त्रण गर्न प्रहरीले निगरानी र कारबाही तीव्र बनाएसँगै धनुषाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ३७ जना पक्राउ परेका छन्। प्रहरीले पाँच दिनको अवधिमा जनकपुरधामसहित जिल्लाका विभिन्न स्थानमा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कात्तिक ७ देखि २४ गतेसम्म सञ्चालन गरिएका छुट्टाछुट्टै कारबाहीमा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका बासिन्दासहित महोत्तरी र सर्लाही जिल्लाका व्यक्तिसमेत रहेका छन्।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ ३ लाख ४८ हजार १०९ र भारतीय रुपैयाँ ३ हजार ५०० बरामद गरिएको छ। त्यसैगरी, तासका गड्डी, मोबाइल फोन तथा दुईवटा सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार कात्तिक ७ गते जनकनन्दनी गाउँपालिका–२ बल्हाबाट सात जना पक्राउ परेका थिए। इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको टोलीले दिउँसो करिब २ः४० बजे तास खेलिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट नेपाली रुपैयाँ १३ हजार २८५, भारतीय रुपैयाँ २ हजार ३००, तासका दुई बुक र तीनवटा मोबाइल बरामद गरिएको थियो। त्यस्तै, कात्तिक १९ गते बिहान जनकपुरधाम–२३ स्थित बसपार्कबाट दुई जना पक्राउ परेका थिए। पक्राउ पर्नेमा जनकपुरधाम–७ का ४० वर्षीय सुजित शर्मा र ४६ वर्षीय शिवशंकर मिश्रा रहेका छन्। उनीहरूको साथबाट पाँच गड्डी तास, १७ हजार ४०० रुपैयाँ नगद तथा दुईवटा सवारीसाधन नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसैगरी, कात्तिक २१ गते मध्यराति जनकपुरधाम–९ स्थित काली होटलमा छापा मार्दा जनकपुरधाम, महोत्तरी र सर्लाहीका पाँच जना पक्राउ परेका थिए। उनीहरूको साथबाट नेपाली रुपैयाँ ८८ हजार २८०, भारतीय रुपैयाँ १ हजार २००, तासका १३ सेट र छवटा मोबाइल बरामद गरिएको थियो। कात्तिक २३ गते बिहान करिब ५ः३० बजे जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट तास खेलिरहेको अवस्थामा थप १८ जना पक्राउ परेका थिए। उनीहरूको साथबाट तीन गड्डी तास र नेपाली रुपैयाँ १ लाख ६१ हजार ६४४ बरामद भएको प्रहरीले जनाएको छ।
त्यसपछि कात्तिक २४ गते राति करिब १ बजे जनकपुरधाम–२ स्थित सिटी होटलमा तास खेलिरहेको अवस्थामा थप पाँच जना पक्राउ परेका थिए। उनीहरूको साथबाट ६७ हजार ५०० रुपैयाँ नगद बरामद गरिएको थियो। प्रहरीले पक्राउ परेका सबै ३७ जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।
धनुषा प्रहरीको कारबाही विवरणले जुवातासको गतिविधि सार्वजनिक स्थल, होटल, टेन्ट हाउस तथा अन्य निजी स्थानमा समेत सञ्चालन हुने गरेको देखाएको छ। चाडपर्वका समयमा यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको जनाउँदै प्रहरीले जुवातास खेल्ने तथा खेलाउने कार्यमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह गरेको छ।
यसैबीच, जनकपुरधाम–१४ रजौलस्थित साजन टेन्ट हाउसबाट कात्तिक २३ गते पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्नुपर्ने माग गर्दै स्थानीयवासी तथा पक्राउ परेकाका आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन्। उनीहरूले मंगलबार साँझ जनकपुरधाम–९ स्थित थापाचोकमा सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। प्रदर्शनका कारण केही समय उक्त सडकखण्डको आवागमनसमेत प्रभावित भएको थियो।
प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले पक्राउ परेकाहरूलाई रिहा गर्न दबाब दिने उद्देश्यले स्थानीयवासी तथा उनीहरूका परिवारका सदस्यहरू आन्दोलनमा उत्रिएको जानकारी दिए। प्रहरीले भने पक्राउ परेका व्यक्तिहरूमाथि कानुनअनुसार अनुसन्धान तथा प्रक्रिया अघि बढाइने जनाएको छ।






