काठमाडौं। राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानको आयोजनामा नेपाल संवत् ११४७ को अवसरमा भक्तपुरको मध्यपुर थिमिमा शुभकामना आदानप्रदान तथा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, गृहमन्त्री सुदन गुरुङ, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापालगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी अतिथिहरूले राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्यार्पण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरेका थिए।
कार्यक्रममा नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाःले नेपाली समाजमा पुर्याएको ऐतिहासिक योगदानको स्मरण गरिएको थियो। ऋणमा डुबेका सर्वसाधारणलाई ऋणमुक्त गराई नयाँ युगको सुरुवात गरेको ऐतिहासिक मान्यतासँग जोडिएको नेपाल संवत् नेपाली मौलिक पहिचान, स्वाभिमान र सांस्कृतिक गौरवको प्रतीकका रूपमा रहेको वक्ताहरूले उल्लेख गरेका थिए।
वक्ताहरूले नेपाल संवत्को संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामाझ यसको ऐतिहासिक महत्त्वबारे जानकारी गराउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरेका थिए। साथै, राष्ट्रिय विभूति शङ्खधर साख्वाःको योगदानलाई राष्ट्रियस्तरमा थप प्रचारप्रसार गर्दै उहाँको ऐतिहासिक तथा सामाजिक योगदानको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।
राष्ट्रिय विभूति शङ्खधर साख्वाःको स्मृतिलाई जीवन्त राख्दै नेपाल संवत्को मौलिकता र सांस्कृतिक महत्त्वलाई स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ। कार्यक्रममा शुभकामना आदानप्रदानसँगै राष्ट्रिय एकता, सांस्कृतिक संरक्षण र ऐतिहासिक व्यक्तित्वहरूको योगदानको सम्मान गर्ने सन्देश प्रवाह गरिएको थियो।






