भर्जिनिया । अमेरिकाको भर्जिनिया राज्यमा नेपाली मूलका नरेश भट्ट पत्नी ममता काफ्ले भट्टको प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका छन्। पत्नीको शव टुक्राटुक्रा पारेको र लुकाएको स्वीकार गरे पनि हत्या नगरेको दाबी गर्दै आएका भट्टलाई मङ्गलबार अदालतको जुरीले हत्यासहितका अभियोगमा दोषी ठहर गरेको हो। ममताको शव भने अहिलेसम्म फेला परेको छैन। उनको अचानक बेपत्ता भएको घटनाले लामो समयदेखि नेपाली समुदाय र अमेरिकी सञ्चारमाध्यममा चर्चा पाउँदै आएको थियो।
३९ वर्षीय भट्टले गत साता अदालतमा बयान दिँदै पत्नीलाई घरमा अचेत अवस्थामा फेला पारेको र बचाउने प्रयास सफल नभएपछि आफू आत्तिएर शव लुकाउने निर्णय गरेको बताएका थिए। उनले ममताको शव टुक्राटुक्रा पारेको र विभिन्न स्थानमा फालिएको स्वीकार गरे पनि हत्या गरेको आरोप अस्वीकार गरेका थिए। तर, सरकारी पक्षले प्रस्तुत गरेका प्रमाण तथा बयानको मूल्याङ्कनपछि जुरीले उनलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको हो। शव लुकाएको र क्षतविक्षत बनाएको अभियोगमा पनि उनी दोषी ठहरिएका छन्।
प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएपछि भट्टलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ। त्यस्तै, शवसँग छेडछाड तथा विकृत बनाएको दुईवटा अभियोगमा प्रत्येकमा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ। उनलाई आगामी मार्च १२ मा सजाय सुनाउने तयारी गरिएको छ। अदालतले उनको धरौटीमा रिहा हुने सुविधा पनि खारेज गरेको छ। फैसला सुनाइँदा भट्टको अनुहारमा कुनै विशेष भाव देखिएको थिएन। उनले केही समय आफ्ना वकिलसँग कुराकानी गरेका थिए।
फैसलापछि ममताका परिवारका सदस्यहरूले एकअर्कालाई अँगालो हाल्दै भावुक प्रतिक्रिया दिएका थिए। परिवारका सदस्यले सरकारी वकिल तथा अनुसन्धानमा संलग्न अधिकारीहरूलाई धन्यवाद दिएका थिए। प्रिन्स विलियम काउन्टी तथा मानासस र मानासस पार्क क्षेत्रकी सरकारी वकिल एमी एशवर्थले विज्ञप्ति जारी गर्दै यो फैसला ममताका लागि न्याय सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण कदम भएको बताएकी छन्। उनका अनुसार ममताको असामयिक मृत्युले परिवारलाई लामो समयसम्म गहिरो पीडा र अनिश्चिततामा राखेको थियो। फैसलाले परिवारलाई केही हदसम्म न्यायको अनुभूति गराउने र जीवनलाई अघि बढाउन सहयोग पुग्ने उनको विश्वास छ।
अचानक बेपत्ता भएकी थिइन् ममता: प्रहरीका अनुसार २८ वर्षीया ममता काफ्ले भट्टलाई अन्तिमपटक सन् २०२४ जुलाई २७ मा भर्जिनियाको मानाससस्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको थियो। उनी उक्त अस्पतालमा दर्तावाला नर्सका रूपमा कार्यरत थिइन्। त्यसको भोलिपल्ट उनकी एक साथीले फोनमा उनीसँग कुराकानी गरेकी थिइन्। सोही दिन ममताले आफ्नी शिशु छोरीसँगको भिडियो सामाजिक सञ्जाल टिकटकमा पोस्ट गरेको पनि सञ्चारमाध्यमहरूले जनाएका छन्।
ममता अचानक सम्पर्कविहीन भएपछि परिवार र साथीहरू चिन्तित बनेका थिए। उनकी छोरीको पहिलो जन्मदिन आउन केही साता मात्रै बाँकी थियो। ममता बेपत्ता भएको खबर सार्वजनिक भएपछि उनको खोजीका लागि व्यापक अभियान सञ्चालन गरिएको थियो। त्यसक्रममा पति नरेशले आफूलाई ममताको अवस्थाबारे कुनै जानकारी नभएको बताएका थिए। उनले प्रहरी तथा सञ्चारमाध्यमसँगको कुराकानीमा ममतासँग आफूले केही दिनअघि घरमा सँगै खाना खाँदा अन्तिमपटक भेटेको दाबी गरेका थिए।
ममताकी निकट साथी तथा पूर्वसहकर्मी होली विर्थले फैसलापछि अनुसन्धानमा संलग्न प्रहरी र सरकारी वकिलप्रति आभार व्यक्त गरेकी छन्। उनले आफूहरू तीन जना साथीले ममतासँग केही नराम्रो भएको आशङ्का गर्दै निरन्तर आवाज उठाएको बताइन्। सुरुमा प्रहरीले आफूहरूको चिन्तालाई पर्याप्त रूपमा सम्बोधन नगरेपछि थप जोडदार रूपमा आवाज उठाउनुपरेको उनको भनाइ थियो। अदालतबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले ममताको शवलाई फोहोरजस्तै व्यवहार गरिएको भए पनि ममता कुनै पनि अर्थमा फोहोर नभएको भावुक अभिव्यक्ति दिइन्।
होलीले ममताकी छोरीलाई आमाले कति माया गर्थिन् भन्ने कुरा जीवनभर सम्झाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्। उनले ममताकी छोरीलाई सम्भव भएसम्म राम्रो जीवन प्रदान गर्न आफूहरू लागिरहने बताइन्। त्यस्तै, अर्की निकट साथी तथा सहकर्मी सुनिता बस्नेतले फैसलालाई महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गर्दै घरेलु हिंसा र महिलाको सुरक्षासम्बन्धी विषयमा समुदायमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्। उनका अनुसार महिलामाथि हुने हिंसा, धम्की र असुरक्षाका घटनालाई सामान्य रूपमा लिनु हुँदैन। प्रत्येक महिला तथा व्यक्तिले सम्मानपूर्वक र सुरक्षित जीवन बाँच्न पाउनुपर्ने उनको जोड थियो।
छ हप्तासम्म चलेको सुनुवाइमा खुलेका घटनाका विवरण : यस मुद्दाको सुनुवाइ करिब छ हप्तासम्म चलेको थियो। यस अवधिमा जुरी सदस्यहरूले ममताकी आमा गीता, भाइ महेश, साथीहरू तथा अन्य सम्बन्धित व्यक्तिहरूको बयान सुनेका थिए। ममताको परिवारका सदस्यले दोभासेमार्फत अदालतमा आफ्नो भनाइ राखेका थिए। मुद्दाको सुनुवाइका क्रममा सबैभन्दा अप्रत्याशित मोड भने नरेश भट्ट आफैँले अदालतमा दिएको बयानबाट आएको थियो। उनले पहिलोपटक पत्नीको शव टुक्राटुक्रा पारेको र विभिन्न स्थानमा फालेको स्वीकार गरेका थिए।
भट्टका अनुसार राति निद्राबाट ब्युँझिँदा ममता शयनकक्षमा अचेत अवस्थामा लडिरहेको अवस्थामा भेटिएकी थिइन्। उनको वरिपरि बान्ता र रगत देखिएको तथा नजिकै विषाक्त कीटनाशक औषधि ‘सेल्फोस’ को खुला प्याकेट रहेको उनले बताएका थिए। त्यसपछि आफूले करिब एक घण्टासम्म कृत्रिम श्वासप्रश्वास दिएर पत्नीलाई बचाउने प्रयास गरेको र पछि बाथरुममा लगेको उनको दाबी थियो। तर, ममता अचेत अवस्थामा भेटिएपछि तत्काल आपत्कालीन सेवा ९११ मा किन फोन नगरेको भन्ने प्रश्नमा भने उनले स्पष्ट जवाफ दिन सकेका थिएनन्। आफू अत्यन्त डराएको र आत्तिएको भन्दै उनले घटनाका बेला आफ्नो मानसिक अवस्था असामान्य रहेको बताएका थिए।
अदालतमा दिएको बयानअनुसार ममताको मृत्यु भएको ठानेपछि भट्टले शव लुकाउने योजना बनाएका थिए। सुरुमा पोटोम्याक नदीमा शव फाल्ने विचार गरेको र पछि फोहोर फाल्ने भाँडोमा राखेर व्यवस्थापन गर्ने प्रयास गरेको उनले बताएका थिए। तर, शव भाँडोमा नअटाएपछि टुक्राटुक्रा पारेको उनको स्वीकारोक्ति थियो। त्यसपछि शवका टुक्राहरूलाई विभिन्न प्लास्टिकका झोलामा राखेर आफू पहिले बस्ने गरेको अपार्टमेन्ट परिसरको फोहोर थिच्ने मेसिन (ट्र्यास कम्प्याक्टर) मा फालेको उनले बयान दिएका थिए। यस क्रममा ११ महिनाकी छोरीलाई समेत केही पटक आफूसँगै लगेको उनले स्वीकार गरेका थिए।
ममताको शव अझै फेला नपरे पनि अदालतको पछिल्लो फैसलाले लामो समयदेखि अन्योल र पीडामा रहेका उनका परिवार तथा आफन्तलाई न्यायिक प्रक्रियामा महत्त्वपूर्ण उपलब्धि दिलाएको छ। ममताको मृत्युको वास्तविक परिस्थितिबारे भट्टले दिएको बयान र सरकारी पक्षले प्रस्तुत गरेका प्रमाणका आधारमा जुरीले उनलाई दोषी ठहर गरेको हो। अब अदालतबाट सुनाइने सजायले यो मुद्दाको अर्को महत्त्वपूर्ण कानुनी चरण पूरा गर्नेछ।






