काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्।
नेपाल संवत् ११४७ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।
उनले नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग गहिरो सम्बन्ध राख्ने नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा स्थापित गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्। २०६५ सालमा नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गर्न पाउँदा आफूले गौरवको अनुभूति गरेको पनि उनले बताएका छन्।
शुभकामना सन्देशमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको ऐतिहासिक योगदानको स्मरण गर्दै प्रचण्डले नेपाल संवत् नेपालको मौलिक पहिचान र सांस्कृतिक गौरवको महत्वपूर्ण प्रतीक भएको उल्लेख गरेका छन्। साख्वाले जनताको ऋणमोचन गराएर सुरु गरेको यस संवत्ले सामाजिक न्याय र जनकल्याणको ऐतिहासिक सन्देशसमेत बोकेको छ।
उनले नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। साथै, नेपालको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्दै विविधताबीचको एकतालाई बलियो बनाउन सबैलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन्।





