भक्तपुर। नेपाल संवत् ११४७ को अवसरमा ‘न्हुदँया भिन्तुना’ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम चाँगुनारायण नगरपालिका–३ कार्यालयको आयोजना र झौखेलस्थित कोटदेवी दाफा भजनको व्यवस्थापनमा सम्पन्न भएको छ। स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा नेपाल संवत्को महत्त्वलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले विश्वमा प्रचलित विभिन्न संवत्हरू राजा, शासक वा धार्मिक अगुवाहरूको नेतृत्वमा सुरु भएका इतिहास भए पनि नेपाल संवत् भने एक साधारण तथा स्वतन्त्र व्यक्तिले सुरु गरेको मौलिक संवत् भएकाले यसको विशेष ऐतिहासिक महत्त्व रहेको बताए। नेपाल संवत् नेपालीको आफ्नै पहिचान र गौरवसँग जोडिएको संवत् भएको उल्लेख गर्दै उनले यसको संरक्षण र प्रवर्द्धनमा सबैले ध्यान दिनुपर्ने धारणा राखे।
नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःले तत्कालीन समयमा जनताको ऋणमोचन गराएर समाजमा नयाँ आशा र उत्साहको सञ्चार गरेको ऐतिहासिक मान्यता छ। उनले आफ्नै सम्पत्ति खर्च गरेर सर्वसाधारणको ऋण तिरिदिएको र त्यसैको स्मरणमा नेपाल संवत् प्रारम्भ भएको इतिहासले शङ्खधर साख्वाःलाई परोपकार, मानवता र सामाजिक न्यायका प्रतीकका रूपमा स्थापित गरेको छ। विसं ९३७ (सन् ८८०) मा सुरु भएको नेपाल संवत् आज पनि नेपाली मौलिक संस्कृति र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधारका रूपमा रहँदै आएको छ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका–३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले नेपालको सुन्दरता यहाँको जातीय, भाषिक, धार्मिक तथा सांस्कृतिक विविधतामा रहेको बताए। सबै समुदायका आ–आफ्नै संस्कार, संस्कृति र परम्परा नेपालको साझा सम्पत्ति भएको उल्लेख गर्दै उनले विविधताभित्रको एकतालाई कायम राख्दै मौलिक कला, संस्कृति र सम्पदाको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए।
स्थानीय समुदायको सहभागितामा सम्पन्न कार्यक्रममा नेपाल संवत्को शुभकामना आदानप्रदानसँगै कोटदेवी दाफा भजनको सांस्कृतिक प्रस्तुतिले स्थानीय मौलिक परम्परा र सम्पदाको महत्त्व उजागर गरेको थियो। यस्ता कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र पहिचानसँग जोड्नुका साथै सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक एकतालाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।






