काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल संवत्ले नेपाली समाजमा सामाजिक समानता, आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना सुदृढ गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालको मौलिक संवत्का रूपमा रहेको नेपाल संवत्को ऐतिहासिक तथा सांस्कृतिक महत्त्वलाई स्मरण गरेका हुन् ।
राष्ट्रपति पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपाली इतिहास, सभ्यता र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदा भएको उल्लेख गरेका छन् । उनले नेपाल संवत्ले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र ऐतिहासिक गौरवलाई प्रतिनिधित्व गर्ने बताएका छन् ।
शुभकामना सन्देशमा उनले लिच्छवी राजा राघवदेवको शासनकालमा शङ्खधर साख्वाले काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गराएर नयाँ युगको सुरुआत गरेको ऐतिहासिक घटनाको स्मरण गरेका छन् । जनताको आर्थिक मुक्ति र स्वतन्त्रताका लागि गरिएको उक्त कार्य लोककल्याणकारी, परोपकारी र मानवतामुखी योगदानको उत्कृष्ट उदाहरण भएको उनको भनाइ छ ।
राष्ट्रपति पौडेलले शङ्खधर साख्वाको योगदानले नेपाली समाजमा सामाजिक न्याय, समानता र जनकल्याणको महत्त्वलाई स्थापित गरेको बताएका छन् । नेपाल संवत्को ऐतिहासिक सन्देशले समाजमा विभेदरहित वातावरण निर्माण गर्न तथा सबै समुदायबीच आपसी सम्मान र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरेका छन् ।
उनले नेपाल संवत् ११४७ ले सम्पूर्ण नेपालीलाई निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि प्रतिबद्ध भएर अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् । साथै, नेपाल संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव र बन्धुत्वलाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरेका छन् ।





