काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ। लुम्बिनी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
त्यसैगरी, आज राति पनि देशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी तथा तराईका अन्य भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। पश्चिमी वायुको प्रभावका कारण हिमाली क्षेत्रमा मौसममा सामान्य परिवर्तन देखिए पनि देशभर ठूलो मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाको पूर्वानुमान छ।
यसैबीच, तराईका भूभाग, काठमाडौँ उपत्यका तथा विभिन्न खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ। बिहानको समयमा दृश्यता प्रभावित हुन सक्ने भएकाले सडक तथा हवाई यातायातमा यात्रा गर्नेहरूलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।





