काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल संवत् ११४७ (न्हूदँया भिन्तुना) तथा म्ह पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै राष्ट्रिय विभूति शङ्खधर साख्वाःले देशभरका जनतालाई ऋणमुक्त बनाएर सुरु गरेको नेपाल संवत् नेपालको मौलिक समयचक्र र सांस्कृतिक पहिचान भएको उल्लेख गरेका छन् । चन्द्रमामा आधारित यस संवत्ले नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेको उनको भनाइ छ ।
उनले नेवार समुदायले हर्षोल्लासपूर्वक मनाउने म्ह पूजाको सांस्कृतिक र आध्यात्मिक महत्त्वबारे पनि चर्चा गरेका छन् । आफ्नै शरीर र शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँलाई पूजा गर्ने परम्पराले आत्मशुद्धि, आत्मबोध र आत्मबल अभिवृद्धि गर्ने उल्लेख गर्दै यसले आपसी सद्भाव, जातीय एकता र पुर्ख्यौली संस्कृतिको संरक्षणमा योगदान पुर्याएको बताएका छन् ।
त्यसैगरी, भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उठाएर द्वारिकावासीलाई बचाएको पौराणिक मान्यतासँग जोडिएको गोवर्धन पूजाका साथै कृषिकर्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गोरु र कृषि औजारको पूजा गर्ने परम्परालाई पनि उनले नेपाली संस्कृतिको महत्त्वपूर्ण पक्षका रूपमा स्मरण गरेका छन् । गोरुलाई पिठो, नुन र बावर खुवाउने तथा हलो र फालीलगायत कृषि औजारको पूजा गर्ने परम्पराले कृषि संस्कृतिको महत्त्व दर्शाउने उनको सन्देशमा उल्लेख छ ।
प्रधानमन्त्री शाहले भैलो र देउसीजस्ता सांस्कृतिक परम्पराले छरछिमेक तथा समुदायबीच आत्मीयता, सद्भाव र सामाजिक सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । मौलिक चाडपर्वले आपसी रिसराग बिर्सेर सामाजिक एकता र धार्मिक सहिष्णुताको भावना बलियो बनाउन प्रेरणा दिऊन् भन्दै उनले सबै नेपालीको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गरेका छन् ।





