भक्तपुर। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले भ्रष्टाचार गरेर देश डुबाउने र आन्दोलनका नाममा देश जलाउने दुवै प्रवृत्ति नेपाली जनताका शत्रु भएको बताउनुभएको छ।
नेपाल संवत् ११४७ नयाँ वर्षको अवसरमा आज भक्तपुरमा आयोजित सांस्कृतिक भिन्तुना र्यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत पुराना राजनीतिक दलहरूले भ्रष्टाचार गरेर देश डुबाएको र नयाँ भनिएका दलहरूले समेत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देश जलाएको उहाँको आरोप थियो। उहाँले दुवै प्रवृत्तिले देश निर्माणमा बाधा पुर्याउने बताउनुभयो।
देशमा भ्रष्टाचार नियन्त्रण गर्न प्रधानमन्त्रीबाटै सुधारको सुरुवात हुनुपर्नेमा जोड दिँदै सुवालले प्रधानमन्त्री भ्रष्टाचारमा संलग्न नभए मन्त्रीहरूले पनि भ्रष्टाचार गर्न नसक्ने र मन्त्रीहरू भ्रष्टाचारमा संलग्न नभए कर्मचारी तथा अन्य जिम्मेवार पदाधिकारीले पनि त्यसो गर्न नसक्ने धारणा राख्नुभयो। उहाँले १७ वर्षअघि भक्तपुर मालपोत कार्यालयमा सरकारी कामको सिलसिलामा पुग्दा तत्कालीन मालपोतका कर्मचारीले आफूहरूले खाएको घुस प्रधानमन्त्रीसम्म पुर्याउन सक्ने बताएका घटना स्मरण गर्नुभयो। कर्मचारीले घुसको रकम प्रधानमन्त्रीसम्म पुर्याउने, राष्ट्रपति कहाँसम्म पुग्छ भन्ने आफूहरूलाई थाहा नभएको भन्दै मन्त्रीलाई समेत जवाफ दिएको उहाँले बताउनुभयो।
फरक प्रसंगमा सुवालले नेपाल मजदुर किसान पार्टी निर्वाचनमा पराजित हुनु भनेको नेपाली जनता पराजित हुनु नभएको दाबी गर्नुभयो। भारतले सीमा अतिक्रमण गर्दा होस् वा देशमा भ्रष्टाचार हुँदा अन्य राजनीतिक दल र तिनका नेताहरू मौन बस्ने गरेको आरोप लगाउँदै उहाँले राजनीतिक दलहरू मिलेर जनताको हितविपरीत काम गर्ने प्रवृत्तिको आलोचना गर्नुभयो।
उहाँले भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्नु सबैको साझा दायित्व भएको पनि बताउनुभयो। नेपाल संवत्को नयाँ वर्षलाई पात्रो परिवर्तनका रूपमा मात्र नभई भाषा, संस्कृति, इतिहास र पहिचानसँग जोडेर मनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
कार्यक्रममा नेपाल भाषा साहित्य तःमुंज्याका अध्यक्ष आशाकुमार चिकंबञ्जार, ४६औँ नेपाल भाषा साहित्य सम्मेलन आयोजक समितिका संयोजक गोल्मढी भक्तपुरका अध्यक्ष तथा भक्तपुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष उकेश कवांलगायतले मन्तव्य राख्नुभएको थियो।
नेपाल भाषा साहित्य तःमुंज्या र सांस्कृतिक भिन्तुना र्याली आयोजक समितिको आयोजनामा र्याली निकालिएको थियो। र्यालीमा सयौँ बाजागाजा समूहसहित हजारौँ सर्वसाधारण सहभागी भएका थिए। भक्तपुरको सूर्यविनायक क्षेत्र र टौमढीबाट छुट्टाछुट्टै सुरु भएका र्याली नगरका विभिन्न टोल तथा बजार परिक्रमा गर्दै भक्तपुर दरबार क्षेत्रमा पुगेर सभामा परिणत भएका थिए।
दरबार क्षेत्रमा स्थापित नेपालभाषाका सेवक, समाज सुधारक तथा मास्टर जगतसुन्दर मल्लको सालिकमा फूलमाला तथा पुष्पगुच्छा अर्पण गरी सम्मान गरिएको थियो। त्यसपछि गीत, संगीत, नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा सयौँ कलाकारको सहभागिता रहेको थियो।
र्यालीमा परम्परागत बाजागाजा, सांस्कृतिक समूह तथा विभिन्न जातजातिका मानिसहरूको उत्साहजनक सहभागिता थियो। नेपाल भाषा, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित र्यालीले भक्तपुरको समृद्ध सांस्कृतिक वैभव र सामाजिक एकतालाई समेत उजागर गरेको थियो।






