काठमाडौं । प्रदर्शनको अन्तिम तयारीमा रहेको नेपाली फिल्म ‘पाँच पाण्डव’ को प्रदर्शनमा रोक लगाइएको छ। केन्द्रीय चलचित्र जाँच समितिबाट सार्वजनिक प्रदर्शनका लागि ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गरिसकेको फिल्मलाई सूचना तथा सञ्चार मन्त्रालयको निर्देशनपछि तत्काल प्रदर्शन नगर्न भनिएको हो।
सबै प्रक्रिया पूरा गरेर आगामी शुक्रबारदेखि प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्ममाथि अन्तिम समयमा रोक लगाइएपछि निर्माण टिमलाई ठूलो झट्का लागेको छ। सेन्सर बोर्डले फिल्म सार्वजनिक प्रदर्शनका लागि कुनै आपत्ति नरहेको भन्दै अनुमति दिएको थियो। तर, अनुमति पाएको केही घण्टामै मन्त्रालयबाट प्रदर्शन रोक्न निर्देशन आएको निर्माण पक्षको भनाइ छ।
स्रोतका अनुसार मन्त्रालयका कर्मचारीले निर्माण टिमलाई फोन गर्दै ‘बुकिङ नखोल्नु, गृह सचिवको ठाडो आदेश छ’ भन्दै जानकारी गराएका थिए। साथै, यससम्बन्धी आधिकारिक पत्र बुझ्न सिंहदरबार आउनसमेत भनिएको बताइएको छ। निर्माण पक्षका अनुसार नेपालगञ्जका प्रमुख जिल्ला अधिकारीले फिल्म प्रदर्शन रोक्न गृह मन्त्रालयमा आग्रह गरेका थिए। सोही आग्रहका आधारमा गृह मन्त्रालयले सञ्चार मन्त्रालयमार्फत प्रदर्शन रोक्न निर्देशन दिएको स्रोतको दाबी छ।
फिल्म प्रदर्शन रोक्ने निर्णयप्रति फिल्मकर्मीहरूले असन्तुष्टि जनाएपछि चलचित्र विकास बोर्डले यस विषयमा छलफल गरेर समाधान खोज्ने आश्वासन दिएको बताइएको छ। फिल्मको थिम पोस्टर सार्वजनिक भएदेखि नै एउटा समूहले यसप्रति असन्तुष्टि जनाउँदै आएको थियो। फिल्मले आफ्नो धार्मिक आस्थामाथि चोट पुर्याएको आरोप लगाउँदै उक्त समूहले विरोध गर्नुका साथै मुख्य कलाकार हरिवंश आचार्यलाई समेत निशाना बनाएको थियो। निर्माण पक्षले सोही समूहको दबाबका कारण फिल्म प्रदर्शन रोक्न निर्देशन आएको दाबी गरेको छ।
झट्ट हेर्दा ‘महाभारत’सँग सम्बन्धित देखिने ‘पाँच पाण्डव’ को कथा भने मूलतः दाजुभाइबीचको सम्बन्धमा केन्द्रित रहेको निर्माण पक्षको भनाइ छ। फिल्ममा महाभारतलाई प्रत्यक्ष रूपमा प्रस्तुत नगरिएको र त्यसलाई प्रतीकात्मक तथा लाक्षणिक रूपमा मात्र जोडिएको बताइएको छ। सेन्सरबाट प्रदर्शन अनुमति पाइसकेको फिल्ममाथि अन्तिम समयमा लगाइएको रोकले अभिव्यक्ति स्वतन्त्रता, चलचित्र प्रदर्शनको अधिकार र प्रशासनिक निर्णय प्रक्रियाबारे नयाँ बहस सिर्जना गरेको छ।





