काठमाडौं । नुवाकोटमा निर्माणाधीन मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा श्रमिकले लामो समयदेखि तलब, भत्ता र अन्य सुविधाबापतको रकम नपाएको गुनासो गरेका छन् । पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिद्वारा प्रवर्द्धित १५.६२५ मेगावाट क्षमताको आयोजनाका कर्मचारीले १ करोड ९७ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी हुन बाँकी रहेको भन्दै सम्बन्धित निकायसँग आवश्यक पहल गरिदिन माग गरेका छन् ।
कर्मचारीका अनुसार आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को आंशिक अवधिदेखि २०८३ सालसम्मको तलब तथा भत्ता भुक्तानी हुन बाँकी छ । दसैं भत्ता र अन्य विविध खर्चसमेत जोड्दा कम्पनीले कुल १ करोड ९७ लाख ७५ हजार ७८२ रुपैयाँ ४५ पैसा भुक्तानी गर्नुपर्ने उनीहरूको दाबी छ । लामो समयसम्म काम गर्दा पनि पारिश्रमिक नपाएको र त्यसपछि पूर्वसूचनाविना रोजगारीसमेत अन्त्य गरिएको भन्दै उनीहरूले नुवाकोट जिल्ला प्रशासन कार्यालय, विदुर नगरपालिका तथा सम्बन्धित वडा कार्यालयमा समस्या समाधानका लागि अनुरोध गरेका छन् ।
आयोजनामा कार्यरत २० जना कर्मचारीको रोजगारी कम्पनीले २ असोज २०८३ मा पत्र जारी गर्दै सोही मितिदेखि लागू हुने गरी अन्त्य गरेको जनाएको थियो । तर, रोजगारी अन्त्यसम्बन्धी आधिकारिक पत्र प्रत्येक कर्मचारीलाई व्यक्तिगत रूपमा उपलब्ध नगराइएको उनीहरूको गुनासो छ । व्यक्तिगत रूपमा अवकाशपत्र प्राप्त नभएसम्म रोजगार सेवाको निरन्तरता कायम रहने दाबी गर्दै कर्मचारीले श्रम ऐन, २०७४ को दफा १४८ (३) तथा रोजगार करार सम्झौताबमोजिम बाँकी पारिश्रमिक र नियमानुसारको ब्याजसमेत भुक्तानी गर्न माग गरेका छन् ।
यसैबीच, १० भदौमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण आयोजना प्रभावित हुँदा सामाजिक परिचालक पदमा कार्यरत दीपकबहादुर गुरुङ बेपत्ता भएको कर्मचारीले बताएका छन् । बाढीबाट आयोजनामा भौतिक क्षति पुगेको र कर्मचारीसमेत मानसिक रूपमा प्रभावित भएको अवस्थामा कम्पनी सञ्चालकबाट खोजीकार्य, आवश्यक हेरचाह तथा सहयोगमा पर्याप्त चासो नदिइएको उनीहरूको आरोप छ । कर्मचारीका अनुसार आयोजना स्थलमा भएको क्षति र निर्माणका क्रममा आफूहरूले गरेको खर्चसमेत भुक्तानी हुन बाँकी छ ।
कर्मचारीले १७ असोजमा कम्पनीका अध्यक्ष विश्वनाथ कँडेल, सञ्चालक सदस्य गौरव बस्नेत र आयोजना निर्देशक दिनेश दहालले आयोजना स्थल भ्रमण गर्दा तलब तथा भत्ता भुक्तानीको प्रतिबद्धता जनाएको बताएका छन् । उनीहरूका अनुसार अध्यक्ष कँडेल र सञ्चालक सदस्य बस्नेतको उपस्थितिमा निर्देशक दहालले दसैंअघि नै सबै कर्मचारीको बैंक खातामा तलब तथा भत्ता जम्मा गर्नुका साथै अन्य खर्चसमेत भुक्तानी गर्ने आश्वासन दिएका थिए । तर, प्रतिबद्धता जनाइएको समय बितिसक्दा पनि रकम प्राप्त नभएको कर्मचारीको भनाइ छ ।
यता कम्पनीका आयोजना निर्देशक दिनेश दहालले भने कर्मचारीको तलब तथा भत्ता भुक्तानी गर्न कम्पनी तयार रहेको बताएका छन् । तर, आयोजनामा भएको खर्च तथा कर्मचारी नियुक्तिसम्बन्धी आवश्यक विवरण उपलब्ध नभएकाले हिसाब मिलान गर्न कठिनाइ भएको उनको भनाइ छ । पुरानो खर्चको विवरण र कर्मचारीका नियुक्तिपत्रलगायत कागजात माग गर्दा हालसम्म उपलब्ध नभएको दहालले दाबी गरे । ‘के कति खर्च भयो र कर्मचारीहरूको नियुक्तिपत्रलगायत विवरण देखाउनुपर्छ भन्ने हाम्रो अडान हो,’ उनले भने, ‘सबै खर्चको आधिकारिक विवरण पेस गरेको खण्डमा काम गरेका कर्मचारीहरूको तलब तथा भत्ता तत्काल भुक्तानी गरिदिन्छौँ ।’
कम्पनीले आधिकारिक खर्च विवरण र नियुक्तिसम्बन्धी कागजातका आधारमा हिसाब मिलान गरेर भुक्तानी गर्ने जनाएको छ भने कर्मचारीले आफूहरूले गरेको कामको पारिश्रमिक लामो समयसम्म रोक्न नहुने बताउँदै आएका छन् । एकातिर कर्मचारीको तलब तथा भत्ता बक्यौता र अर्कोतिर रोजगारी अन्त्यको विवाद कायम रहँदा आयोजना व्यवस्थापन र कर्मचारीबीचको समस्या थप जटिल बनेको छ । सम्बन्धित सरकारी निकायले समेत यस विषयमा आवश्यक समन्वय गरी श्रमिकको पारिश्रमिक तथा श्रम अधिकार सुनिश्चित गर्नुपर्ने माग उठेको छ ।






