बैतडी । बैतडीको मेलौली नगरपालिका–१ स्थित जिरो पोइन्टनजिकै सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। दुर्घटना गएराति करिब ८ बजे भएको हो।
डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका बेला जिपमा चालकसहित सात जना सवार थिए।
दुर्घटनामा घाइते भएका सबैलाई तत्काल उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली पठाइएको थियो। उपचारकै क्रममा राति ८ बजेर ३५ मिनेटमा पञ्चेश्वर गाउँपालिका–२ निवासी ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो।
दुर्घटनामा सोही स्थानका २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला र २२ वर्षीय सुनिल बस्केल घाइते भएका छन्। उनीहरूमध्ये सोमनीको भित्री चोट लागेको छ भने अविनासको खुट्टा तथा निरजको टाउको र ढाडमा चोट लागेको छ। करनलाई सामान्य चोट लागेको छ भने सुनिलको टाउको र दाहिने खुट्टामा चोट लागेको छ।
त्यसैगरी, जिप चालक ३६ वर्षीय सन्तोष राम लुहारको टाउकोमा चोट लागेको छ। घाइतेमध्ये सोमनी, अविनास, निरज र चालक सन्तोषको अवस्था मध्यम रहेको छ भने करन र सुनिलको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।





