काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनमा भर नपरेर आफ्नै बलमा चुनाव जित्ने प्रयत्न गर्नुपर्ने बताएका छन् ।
बुधबार माओवादीको उपत्यका विशेष प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले अहिलेको चुनावमा गठबन्धनबाट जितौंला र खाउँला भन्ने सोच दिमागबाट हटाउन प्रचण्डले आग्रह गरे ।

त्यस्तै चुनावलाई जीवन मरणको अवस्थाको रुपमा लिन आग्रह गरे । उनले भने, ‘हामी अहिले जीवन मरणको लडाईंमा छौं । स्थानीय चुनाव र पछि हुने प्रदेश र संघको चुनाव जित्नै पर्ने छ । त्यो हिजोको जस्तो हातहतियार र बम बारुदद्वारा होइन। जनताको मन जितेर चुनाव जित्नु पर्ने छ ।’
उनले नेता कार्यकर्तामा देखिएको अवसरवादी प्रवृत्तिलाई सच्चाउन जरुरी रहेको बताए । संगठनको स्थिति र नेता कार्यकर्ताको वैचारिक स्तर तथा आचरण हेर्दा दिनप्रतिदिन कम्युनिस्ट आन्दोलनबाट विचलनतर्फ गएको महसुस भएको प्रचण्डको भनाइ थियो ।उनले अहिले जतिनै क्रान्तिको कुरा गरिरहेपनि पार्टी विस्तारै बुर्जुवाकरण भइरहेको र अराजकता बढिराखेकाले समस्या पैदा भएको बतएका थिए ।










