काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुर–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित ‘केन्द्रीय सदस्य डा. भक्त राईसँग भेटघाट तथा परिचयात्मक कार्यक्रम’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा भोजपुरबाट काठमाडौंमा विभिन्न पेशा, व्यवसाय तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्यहरू डा. भक्त राई, सुशीला कार्की पोखरेल र जानकी जोशीको सहभागिता रहेको थियो। त्यस्तै, रास्वपा प्रदेश कमिटी सदस्य छिरिङ शेर्पा, भोजपुर जिल्ला सभापति ख्याम भुजेल (ठुले) लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो।
भोजपुर–काठमाडौं सम्पर्क मञ्चका कार्यवाहक सभापति राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रास्वपाका सक्रिय व्यक्तित्व महेश श्रेष्ठ, मञ्चका सचिव कुशल कार्की लगायतको सहभागिता थियो। कार्यक्रममा सहभागीहरूले भोजपुर र काठमाडौंमा रहेका पार्टी समर्थक तथा सक्रिय सदस्यबीच आपसी परिचय, समन्वय र संगठनात्मक गतिविधिबारे छलफल गरेका थिए।
कार्यक्रममा नेपालको पहिलो ‘राष्ट्रिय खाद्य बैंक लिमिटेड’का राष्ट्रिय अध्यक्ष हरिकृष्ण दाहाल, लेखक, गायक तथा अधिवक्ता नवीन प्रधानलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो। भोजपुर जिल्लाका नौवटै स्थानीय तहबाट काठमाडौंमा रहेका सक्रिय युवा तथा पार्टीसम्बद्ध व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।
भेटघाट तथा परिचयात्मक कार्यक्रमले भोजपुरबाट काठमाडौंमा रहेका रास्वपा समर्थक तथा सक्रिय सदस्यबीच आपसी सम्बन्ध थप मजबुत बनाउँदै संगठनात्मक सहकार्य र आगामी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने सहभागीहरूले बताएका छन्। कार्यक्रममा पार्टीको संगठन विस्तार, स्थानीय तहसँगको समन्वय तथा युवाको सक्रिय सहभागिताका विषयमा समेत छलफल भएको थियो।





