आकाश मगर, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–२ डाँडागाउँमा धारिलो हतियार प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा आफ्नी ४५ वर्षीया श्रीमती बिमला राईमाथि सिकल (हँसिया) प्रहार गरेका थिए। गर्दनमा धारिलो हतियार प्रहार भएपछि गम्भीर घाइते भएकी बिमलालाई अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि नगर अस्पताल बेल्टार पुर्याएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले राति १:१५ बजे बिमला राईलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि गन्दु राम राई आफैं प्रहरीसमक्ष उपस्थित भई घटनाबारे जानकारी गराएका थिए। त्यसलगत्तै अस्थायी प्रहरी बिट माडिबासबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेल्टारको हिरासतमा राखेको छ।
घटनाबारे प्रहरीले कानुनी प्रक्रिया अघि बढाउनुका साथै थप अनुसन्धान गरिरहेको जनाएको छ।





