काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज आइतबार देशका ३१ जिल्लामा वडा अधिवेशन हुँदैछ। महाधिवेशनको प्रारम्भिक निर्वाचन प्रक्रियाअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।
शनिबार सम्पन्न अधिवेशनबाट विभिन्न वडामा वडा कार्यसमिति चयन गर्नुका साथै महाधिवेशनका लागि आवश्यक क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएका छन्। निर्वाचन समितिका अनुसार बाँकी ३१ जिल्लामा आज वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने प्रक्रिया अघि बढाइनेछ।
तर, भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा भने तत्काल वडा अधिवेशन सञ्चालन गर्न कठिनाइ देखिएको छ। ती जिल्लाको भौतिक तथा मानवीय अवस्थालाई ध्यानमा राख्दै परिस्थितिअनुसार नयाँ मिति तय गरिने निर्वाचन समितिले जनाएको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार शनिबारबाट सुरु भएको वडा अधिवेशन उत्साहजनक रूपमा अघि बढेको छ। अधिकांश स्थानमा कांग्रेसका स्थानीय नेता–कार्यकर्ताको सहभागितामा निर्वाचन प्रक्रिया सम्पन्न भएको उनको भनाइ छ।
आज हुने वडा अधिवेशन सम्पन्न भएपछि कांग्रेसको १५औँ महाधिवेशनका लागि तल्लो तहबाट प्रतिनिधि छनोटको प्रक्रिया थप अगाडि बढ्नेछ। वडा तहबाट चयन भएका प्रतिनिधिहरूले आगामी अधिवेशनका विभिन्न चरणमा सहभागिता जनाउनेछन्।





