काठमाडौं । डा. कोपिला पोखरेलले सांसद खुस्बु ओलीलाई लक्षित गर्दै संसद्मा निर्वाचित जनप्रतिनिधिको प्राथमिकता जनताका सवाल हुनुपर्ने बताएकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ओलीलाई प्रश्न गर्दै जनताले उनलाई सांसद बनाएको हो कि ‘सनातन धर्मको ठेकेदार’ भन्दै व्यंग्यात्मक टिप्पणी गरेकी छन्।
पोखरेलले आफ्नो व्यक्तिगत धार्मिक आस्था पालना गर्नु सबैको अधिकार भएको उल्लेख गर्दै गेरुवा वस्त्र लगाउने, मन्दिर जाने तथा पूजा गर्ने विषय व्यक्तिगत स्वतन्त्रतासँग सम्बन्धित रहेको बताएकी छन्। तर, संसद्मा पुगेपछि जनप्रतिनिधिले आफ्नो संवैधानिक र सार्वजनिक जिम्मेवारीलाई सम्झनुपर्ने उनको भनाइ छ।
उनले सांसदको तलब तथा भत्ता जनताले तिरेको करबाट आउने भन्दै संसद्मा धर्मको विषयलाई प्राथमिकता दिनुभन्दा किसानका समस्या, युवाको रोजगारी, महँगी, शिक्षा, स्वास्थ्य तथा आम नागरिकका आवाजलाई प्राथमिकतामा राख्न आग्रह गरेकी छन्।
पोखरेलले ‘सनातन धर्म कसैको निजी सम्पत्ति नभएको’ र ‘नेपाल पनि कसैको निजी पेवा नभएको’ टिप्पणी गर्दै अरूलाई संस्कार सिकाउनुअघि जनताले दिएको जिम्मेवारी पूरा गर्ने संस्कार देखाउनुपर्ने बताएकी छन्। उनको भनाइले व्यक्तिगत धार्मिक आस्था र सार्वजनिक पदको जिम्मेवारीबीचको सीमाबारे बहसलाई समेत उठाएको छ।
अन्त्यमा पोखरेलले ओलीलाई प्रत्यक्ष प्रश्न गर्दै ‘जनताले सांसद बनाएको हो कि धर्म मन्त्री बनाएको?’ भनेकी छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको उनको उक्त टिप्पणीले सांसदको भूमिका, धार्मिक आस्था र जनप्रतिनिधिको सार्वजनिक जिम्मेवारीबारे बहस सिर्जना गरेको छ।





