काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे छलफल गर्ने कार्यसूची रहेको छ । यसअघि बिहीबार बसेको संसद बैठक दलहरुबीच सहमति हुन नसक्दा आजका लागि स्थगित गरिएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा संसदबाट एमसीसी पारित गर्न लागि परेका छन् । सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने एमसीसीको विपक्षमा उभिएको छ । त्यस्तै सत्ताघटक जसपामा पनि एमसीसीबारे अनिर्णित छ ।

यसैबीच प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको साथ लिन खोजेका छन् । बिहीबार भएका छलफलमा नेपाली कांग्रेस र एमाले सहमतिको नजिक पुगेको बताइएको छ । श्रोतका अनुसार एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान दोहोर्यााएको छ ।
एमसीसी पास गराएरै छाड्ने अडान लिएको कांग्रेसका कतिपय नेताहरुले वर्तमान सत्तागठबन्धनको औचित्य सकिएको निष्कर्ष पनि निकालिसकेका छन । माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता भने एमसीसीको विरोधमा सडकमा प्रदर्शन गरिरहेका छन् ।










