काठमाडौं । नेकपा एमालेले जनसंगठन समन्वय संयन्त्रको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो ३ बजे बस्ने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।
रिजालका अनुसार एमालेले दुई वटा एजेण्डामा छलफल गर्न बैठक बोलाएको हो । भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा बस्ने बैठकमा २२ वटै जनसंगठनका इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सहभागी हुनेछन् ।

सवै जनसंगठनमा सहइन्चार्ज नभएपनि इन्चार्ज र अध्यक्ष छन् । रिजालले बैठकमा स्वास्थ्य मापदण्ड पालना गरेर बैठक बस्ने बताएका छन् । एमालेले सरकारलाई स्थानीय चुनाव समयमै गर्न आलटाल गरेको भन्दै समयमा चुनाव गर्न दबाव दिने भएको छ ।
सत्ता गठबन्धनमा निर्वाचन ऐन संशोधन गरेर आगामी कार्तिकमा पुर्याउने तयारी भइरहेका बेला वैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने पक्षमा उभिएको एमालेले पार्टीका विभिन्न जनसंठनमार्फत दबावका कार्यक्रम अघि बढाउने तयारी गरेको हो ।संयन्त्रमा विद्यार्थी, युवा, महिला लगायत २२ वटा संगठन रहेका छन् । संयन्त्रको संयोजक एमाले नेता भानुभक्त ढकाल रहेका छन् ।










