श्रीराम रानाभाट युएई -“एक थोपा रगत आफ्नै माटोका लागि” भन्ने मूल नाराका साथ विगत केही वर्षदेखि कास्की आदर्श समाज यूएईद्वारा आयोजना हुँदै आएको खुल्ला रक्तदान कार्यक्रम यसपटक पनि भव्य रूपमा सम्पन्न भएको छ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्याङ्खुदीमा शनिबार बिहान ८ बजेदेखि आयोजित कार्यक्रममा ५६ युनिट रगत संकलन गरेर समजले नयाँ रेकर्ड बनाएको छ।
उक्त कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीराम रानाभाटले गरेका थिए भने प्रमुख अतिथिमा सोही वडा का वडाध्यक्ष श्रीकृष्ण लामिछाने उपस्थित थिए, कार्यक्रमको संचालन महासचिव प्रकाश त्रिपाठीले गरेका थिए भने स्वागत मन्तव्य ससमाजका उपाध्यक्ष बुद्धि बहादुर राना भाट ले राखेका थिए।
कार्यक्रममा का.आ.स.अ.स. परिषद्का अध्यक्ष शिव बानिया, पूर्व महासचिव विकास अधिकारी, परिषद् सचिव कान्ति तिमिल्सिना, कोषाध्यक्ष विश्वबन्धु थापा, नेपाल च्याप्टर अध्यक्ष पूजा गिरी, कास्की आदर्श समाज कतारका उपाध्यक्ष,सोही ठाउॅंका आमा समूह ,युवाक्लब लगायत विभिन्न संघसंस्थाका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
एसइई मा उत्कृष्ट नतिजा ल्याउने बिराज श्रेष्ठ सम्मानित
सोही कार्यक्रममा शैक्षिक सत्र २०८२/०८३ को SEE परीक्षामा सामेल भई उत्कृष्ट नतिजासहित SEE पास गर्न सफल भएका समाजका पूर्व अध्यक्ष एवं संरक्षक राजेश / विद्या श्रेष्ठका सुपुत्र बिराज श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
उज्ज्वल भविष्यको कामना सहित उनलाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित सबैले उनको सफलताको प्रशंसा गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेका थिए।
रक्तदानलाई जीवनदानसँग जोड्दै ‘रक्तदान – जीवन’ को मर्मलाई आत्मसाथ गर्न आयोजना गरिएको कार्यक्रममा वक्ताहरुले समाजलाई धन्यवाद सहित सबै पक्षहरुलाई यस्तै पुण्य कर्ममा अग्रसर हुन आग्रह गरेका थिए। कार्यक्रममा स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अन्तमा कार्यक्रम संयोजक गणेश बस्तोला, उपसंयोजक ऋषिराम आचार्य, बाबूराम आचार्य, नवजागरण युवा क्लब परिवार, त्यहाँका आमा समूह ,विकास अधिकारी लगायत सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरिएको थियो।
आयोजकले आगामी दिनमा पनि यस्ता सामाजिक, मानवीय तथा शैक्षिक प्रोत्साहनका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।






