काठमाडौं । खोटाङ सेवा समाज, काठमाडौंको आयोजनामा शुभ दीपावली २०८३ को अवसर पारेर आयोजित शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। खोटाङवासीबीच आपसी सद्भाव, एकता, भाइचारा र सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सयौँको संख्यामा खोटाङवासीको उत्साहजनक सहभागिता रहेको थियो।
समाजका अध्यक्ष नवल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष प्रा. डा. माधवप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा खोटाङका अग्रज, समाजसेवी, राजनीतिज्ञ, सरकारी सेवाका वर्तमान तथा पूर्व उच्चपदस्थ अधिकारी, साहित्यकार, कलाकार, व्यवसायी र विभिन्न पेसा तथा क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। समाजका कोषाध्यक्ष प्रकाश पुरीका अनुसार कार्यक्रममा आयोजित देउसी–भैलोबाट करिब ४ लाख रुपैयाँ संकलन भएको छ। उक्त रकम सामाजिक सेवा तथा मानवीय सहयोगका कार्यमा उपयोग गर्ने उद्देश्य राखिएको समाजले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नवल खड्काले खोटाङ सेवा समाज एउटा संस्थामा मात्र सीमित नभई सम्पूर्ण खोटाङवासीको एकता, आत्मीयता, पहिचान र सेवाभाव जोड्ने साझा चौतारी भएको बताए। समाजलाई वर्तमान अवस्थासम्म ल्याइपुर्याउन अग्रजहरूको मार्गदर्शन, सदस्यहरूको सक्रियता र सबै खोटाङवासीको साथ तथा सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरे। उनले आगामी नयाँ वर्षमा जिल्लाव्यापी अन्तरपालिका भलिबल प्रतियोगिता आयोजना गर्ने योजना रहेको र यही पुस महिनामा समाजको वार्षिक साधारणसभा गर्ने निर्णय भइसकेको जानकारीसमेत दिए।
अध्यक्ष खड्काले दीपावलीको शुभकामना आदानप्रदान तथा देउसी–भैलोले आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाएको उल्लेख गर्दै मौलिक संस्कृति संरक्षण, सामाजिक सेवा, सहकार्य र मानवीय सम्बन्धलाई अझ उचाइमा पुर्याउन सबैलाई आग्रह गरे। कार्यक्रममा समाजका उपाध्यक्ष जगतप्रसाद घिमिरेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक नवराज रोकाले कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्रकाश पारेका थिए। देउसी–भैलोको भट्याइ प्रेमप्रसाद भट्टराईले गरेका थिए।
कार्यक्रममा समाजका निवर्तमान अध्यक्ष तथा सल्लाहकार राकेश राई, नेपाली सशस्त्र प्रहरीका पूर्व महानिरीक्षक तथा संरक्षक सदस्य सनतकुमार बस्नेत, संरक्षक सदस्य एवं व्यवसायी टंक श्रेष्ठ, खोटाङ सेवा समाज कतारका सल्लाहकार तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष प्रेमप्रसाद भट्टराईलगायतको सहभागिता रहेको थियो। त्यस्तै, संविधानसभा सदस्य तथा पूर्व सांसद दुर्गाजयन्ती राई, पूर्व सांसद एवं एमाले नेता विशाल भट्टराई, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव कालीप्रसाद पराजुली, नेपाल सरकारका सचिव पुष्कर सापकोटा, लोक सेवा आयोगका पूर्व अध्यक्ष माधव रेग्मी, नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी, उच्च अदालतका न्यायाधीश कृपासुर कार्की तथा साहित्यकार एवं नेपाल सरकारका उपसचिव टंक भट्टराईलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
यसैगरी, पूर्व प्रमुख जिल्ला अधिकारीहरू ध्रुवबहादुर खड्का, कृष्णबहादुर कटुवाल, नरबहादुर खड्का, गणेश आचार्य र शम्भु घिमिरे, वरिष्ठ अधिवक्ता तथा समाजका पूर्व महासचिव देवराज कटुवाल, अडिटर एवं पूर्व कोषाध्यक्ष तारा दाहाललगायतको सहभागिता थियो। राजनीतिक क्षेत्रबाट नेपाली कांग्रेस खोटाङका सभापति रोजेन राईसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा प्राज्ञ तथा गायिका सत्यकला राई, मोडल तथा नृत्याङ्गना शशिकला राई, गायिका सुशीला राई, बाँसुरीवादक नगेन्द्र राई र गायिका परीबुङ राईलगायत कलाकारहरूले सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। कलाकारहरूको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको थियो। कार्यक्रमको सञ्चालन समाजका महासचिव राजु एन. राईले गरेका थिए।







