काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु संकटका कारण नेपालले असमान रूपमा ठूलो क्षति व्यहोर्नुपरेको बताएका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि त्यसको प्रभाव भने गम्भीर रूपमा भोग्नुपरिरहेको बताएका हुन्।
मन्त्री खनालले नेपालले विश्वको कुल हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गर्ने भए पनि जलवायुजन्य विपद्को मार पटक–पटक खेपिरहेको उल्लेख गरे। जलवायु परिवर्तनका कारण नेपालमा बाढी, पहिरो, अतिवृष्टि तथा अन्य विपद्का घटना बढ्दै जाँदा जनधनसँगै विकासका पूर्वाधारमा समेत ठूलो क्षति भइरहेको उनले बताए।
उनका अनुसार नेपालले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको क्षेत्रमा उल्लेखनीय प्रयास गरिरहेको छ। नेपालमा कुल भूभागको करिब ४६ प्रतिशत क्षेत्र वनले ढाकेको, नयाँ बिक्री हुने ७० प्रतिशतभन्दा बढी सवारीसाधन विद्युतीय रहेको तथा ९० प्रतिशतभन्दा बढी ऊर्जा जलविद्युत्बाट उत्पादन हुने गरेको उनले महासभालाई जानकारी गराए।
जलवायु संकटले सडक, पुल, विद्यालय, घर तथा कृषि क्षेत्रमा क्षति पुर्याउनुका साथै नागरिकको जीविकोपार्जनमा समेत गम्भीर असर पारेको मन्त्री खनालले बताए। विशेषगरी कमजोर तथा जोखिममा रहेका समुदाय जलवायुजन्य विपद्का कारण पुनः गरिबीतर्फ धकेलिनुपरेको र यसले मुलुकको विकास प्रक्रियामा थप चुनौती सिर्जना गरेको उनको भनाइ छ।
खनालले जलवायु परिवर्तनको असरबाट नेपालका जलविद्युत् तथा अन्य महत्वपूर्ण पूर्वाधारसमेत प्रभावित भइरहेको उल्लेख गरे। जलवायु संकटमा नेपालको न्यून योगदान र भोगिरहेको उच्च क्षतिबीचको असमानता सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायबाट न्यायोचित सहयोग, स्रोत तथा जलवायु वित्तमा पहुँच आवश्यक रहेको सन्देश उनले महासभामार्फत दिएका छन्।





