
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न सांगठनिक तथा समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। असोज ५ गतेदेखि ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ।
बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको महासचिव शङ्कर पोखरेलले बैठकपछि जारी गरेको विज्ञप्तिमा उल्लेख छ। साथै, ११औँ महाधिवेशनपछि मनोनयन हुन बाँकी केन्द्रीय सदस्यहरू चयन गर्नुका साथै स्थायी कमिटीमा समेत सदस्य मनोनीत गरिएको छ।
स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल (काठमाडौँ), प्रदीप ज्ञवाली (गुल्मी), काशिनाथ अधिकारी (चितवन), देवराज घिमिरे (झापा), शिवमाया तुम्वाहाम्फे (मोरङ), लालबाबु पण्डित (मोरङ) र थममाया थापा (म्याग्दी)लाई मनोनीत गरिएको छ। त्यस्तै, विभिन्न जिल्लाबाट २९ जना तथा पार्टीमा समायोजन भएका विभिन्न समूहबाट १३ जनालाई केन्द्रीय सदस्य बनाइएको महासचिव पोखरेलले जानकारी दिएका छन्।
मनोनीत केन्द्रीय सदस्यमा काशिनाथ अधिकारी, देवराज घिमिरे, हरि रिजाल, पासाङ शेर्पा, नरेन्द्र भट्टराई, नन्दराम देवकोटा, धर्म गिरी, नारायण घर्ती, विद्यासुन्दर शाक्य, शान्तिलाल महत, पोल्तेन छेपाङ गुरुङ, डा. प्रेम दङ्गाल, सुरेन्द्र उदास, विनोद पाण्डे, पुष्पराज श्रेष्ठ, विमला घिमिरे, डा. शिवमाया तुम्वाहाम्फे, कौशिला खत्री, जानुका सिम्खडा र बिना बास्तोला रहेका छन्।
पार्टीमा समायोजन भएका समूहबाट मोहम्मद इस्तियाक राई, प्रदीप यादव, अब्दुल हुसैन अंसारी, डिबी कार्की, भवानी खापुङ, दीपक साउद, जय गोले तामाङ, धर्मराज निरौला, बबि चामलिङ, विनोद पहाडी, श्रीप्रसाद शर्मा, रामप्रित राम र ध्रुव विष्टलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।
बैठकले स्थायी कमिटीलाई पूर्णता दिने, पोलिटब्यूरो गठन गर्ने, सल्लाहकार परिषद् तथा विभिन्न विभाग गठन गर्ने र ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने विषयमा आवश्यक निर्णय लिन सचिवालयलाई अधिकार प्रत्यायोजन गरेको छ।
बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बेपत्ताको यथार्थ विवरण सार्वजनिक गर्न, विस्थापितको तत्काल पुनःस्थापना गर्न तथा क्षतिग्रस्त सडक, पुल र बस्तीको पुनर्निर्माण अघि बढाउन सरकारसँग माग गरेको छ। बाढी प्रभावित बालबालिका, गर्भवती तथा सुत्केरी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई पुनःस्थापनाको प्राथमिकतामा राख्नुपर्नेमा पनि जोड दिइएको छ।
जलवायु परिवर्तनका कारण नेपालजस्ता विकासशील तथा पर्वतीय मुलुकमा बढिरहेको जोखिमप्रति बैठकले चिन्ता व्यक्त गरेको छ। एमालेले जलवायु न्यायको विषयलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाउँदै बाढीपछिको उद्धार तथा राहतमा सहयोग गर्ने मित्रराष्ट्र, विभिन्न सङ्घसंस्था, सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी तथा प्रदेश र स्थानीय तहप्रति धन्यवाद व्यक्त गरेको छ।
राष्ट्रियता, लोकतन्त्र र जनजीविकासम्बन्धी प्रस्ताव पारित गर्दै बैठकले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीप्रति आपत्ति जनाएको छ। विसं २०८२ भदौ २३ र २४ गते भएका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न तथा यसअघि गठित छानबिन आयोगका प्रतिवेदन पूर्ण पाठसहित सार्वजनिक गर्न पनि माग गरिएको छ।
बैठकले सुकुमवासी विस्थापन, ट्रेड युनियन तथा स्ववियु अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता र मानव अधिकारका विषयमा समेत छलफल गरेको छ। संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गर्न सकिने उल्लेख गर्दै महासचिव पोखरेलले संविधानका आधारभूत संरचनाको संरक्षणका पक्षमा एमाले दृढ रहेको बताएका छन्।
त्यस्तै, महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति, कर पुनरावलोकन तथा व्यावसायिक वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय हित, सीमा तथा भूराजनीतिक विषयमा संवेदनशील हुन आग्रह गर्दै एमालेले प्रवासी नेपालीका मताधिकार, नागरिकता, लगानी, रोजगारी र सामाजिक सुरक्षासम्बन्धी विषयमा नियमित संवाद गर्ने जनाएको छ।
बैठकको समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकतासहित अघि बढिरहेको बताएका छन्। विगतका कमीकमजोरीको समीक्षा गर्दै पार्टी पुनर्जागरण र सुदृढीकरणका योजना बनाइएको तथा आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन पार्टी पङ्क्तिलाई आह्वान गरिएको छ।
यसैबीच, आगामी तीन दिन देशका विभिन्न भूभागमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमानलाई ध्यानमा राख्दै बैठकले नागरिकलाई सतर्क रहन, सम्बन्धित निकायका सूचना पालना गर्न तथा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह गरेको छ।





