काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न आदेश दिएको छ। न्यायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले दाहाललाई रिहा गर्न प्रहरीलाई आदेश दिएको हो।
दाहालकी छोरी डेनिका दाहालले आफ्ना बुबालाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्। त्यसै रिटमाथिको सुनुवाइपछि सर्वोच्चले थुनामुक्तिको आदेश दिएको हो।
दाहाललाई गत आइतबार मोरङको बेलबारीबाट प्रहरीले पक्राउ गरेको थियो। उनीमाथि युट्युब तथा सामाजिक सञ्जालमार्फत भूराजनीतिक विषय र उच्च राजनीतिक व्यक्तित्वबारे भ्रामक सूचना फैलाएको आरोप लगाइएको थियो।
यसअघि सर्वोच्च अदालतले दाहाललाई पक्राउ गर्नुको आधार र कारणसहित अनुसन्धानसम्बन्धी मिसिल तथा उनलाई अदालतमा उपस्थित गराउन सरकारका नाममा आदेश जारी गरेको थियो। त्यसक्रममा अदालतले सरकारसँग लिखित जवाफसमेत माग गरेको थियो।
दाहाल पक्राउ परेपछि उनको हिरासत र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी विषयमा सार्वजनिक बहससमेत सुरु भएको थियो। सर्वोच्चको पछिल्लो आदेशसँगै अब दाहाललाई रिहा गर्ने प्रक्रिया अघि बढ्ने भएको छ।





