काठमाडौं । प्रतिनिधिसभाका उपसभामुख रुबि कुमारी ठाकुरले इन्द्रजात्राको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।
उपसभामुख ठाकुरले काठमाडौँ उपत्यकाको समृद्ध मौलिक संस्कृति, कला, परम्परा र ऐतिहासिक गौरवको जीवन्त प्रतीकका रूपमा रहेको इन्द्रजात्रा शताब्दीयौँदेखि पुस्तान्तरण हुँदै आएको उल्लेख गर्नुभएको छ। उहाँले इन्द्रजात्रा नेपालको सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय पहिचानको अमूल्य धरोहर भएको बताउँदै यस्ता मौलिक संस्कृति तथा सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु सबैको साझा दायित्व रहेको धारणा व्यक्त गर्नुभएको छ।
उहाँले देशका विभिन्न भागमा भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा सरकार र राज्यका सबै संयन्त्र रहेको बताउनुभएको छ। उद्धार, राहत, पुनःस्थापना तथा आवश्यक सहयोगलाई प्रभावकारी बनाउन सबै पक्षबाट निरन्तर पहल र सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ।
उपसभामुख ठाकुरले वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमप्रति सचेत र सतर्क रहन तथा सम्भावित जोखिमबाट बच्न सुरक्षित स्थानमा रहन पनि सम्पूर्ण नागरिकलाई आग्रह गर्नुभएको छ।
इन्द्रजात्राले नेपाली समाजमा एकता, सद्भाव, सहिष्णुता र भाइचारा अझ सुदृढ गर्दै सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य प्रदान गरोस् भन्ने कामना गर्दै उहाँले पुनः इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।





