गोरखा । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि गोरखाका ११ स्थानीय तहले ३ करोडभन्दा बढी रुपैयाँ सहयोग जुटाएका छन् ।
स्थानीय तहहरूले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएका छन् । बाढीबाट गोरखाका गण्डकी गाउँपालिका र सहिद लखन गाउँपालिका क्षेत्रसमेत प्रभावित भएका छन् ।
सङ्कलित रकममध्ये गोरखा नगरपालिकाले सबैभन्दा बढी ५० लाख रुपैयाँ जुटाएको छ । नगरपालिकाका अनुसार जनप्रतिनिधिबाट पाँच लाख, शिक्षक तथा कर्मचारीबाट ३१ लाख ४० हजार ५८९, नगरपालिकाले नियुक्त गरेका कर्मचारीबाट ११ लाख ३२ हजार ८९० र नगरपालिकाको कोषबाट दुई लाख २६ हजार ५२१ रुपैयाँ गरी कुल ५० लाख रुपैयाँ सङ्कलन गरिएको हो ।
त्यस्तै पालुङटार नगरपालिकाले ३९ लाख रुपैयाँ, भीमसेनथापा गाउँपालिकाले ३५ लाख रुपैयाँ र सिरानचोक गाउँपालिकाले ३३ लाख ५० हजार रुपैयाँ सङ्कलन गरेका छन् । यी रकम जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा स्थानीय तहको कोषबाट जुटाइएको जनाइएको छ ।
यसैगरी सहिद लखन गाउँपालिकाले ३० लाख ७५ हजार, बारपाक सुलिकोट गाउँपालिकाले २८ लाख ५९ हजार, अजिरकोट गाउँपालिकाले २७ लाख ६६ हजार र धार्चे गाउँपालिकाले १५ लाख रुपैयाँ सङ्कलन गरेका छन् ।
गण्डकी गाउँपालिकाले २० लाख, चुमनुब्री गाउँपालिकाले १२ लाख २० हजार र आरुघाट गाउँपालिकाले ११ लाख ३३ हजार रुपैयाँ राहतका लागि जुटाएका छन् । स्थानीय तहहरूले सङ्कलन गरेको रकम बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाउने बताएका छन् ।
बाढीका कारण गोरखामा पनि ठूलो जनधनको क्षति भएको छ । पालुङटारबाट नुवाकोटतर्फ गएको बस भैंसे क्षेत्रमा बाढीमा परेर बगेको थियो । उक्त घटनामा ३१ जना अझै बेपत्ता रहेको जनाइएको छ ।
त्यस्तै सहिद लखन र गण्डकी गाउँपालिकामा त्रिशूली नदी किनारका संरचनामा व्यापक क्षति पुगेको छ । बाढीले पुल तथा सडक बगाउनुका साथै अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुर्याएको स्थानीय तहहरूले जनाएका छन् ।
गोरखाबाट रसुवामा रोजगारी तथा अन्य कामका लागि गएकामध्ये केही व्यक्ति बाढीपछि सम्पर्कविहीन रहेको स्थानीय तहहरूले जनाएका छन् । बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाको कामलाई तीव्रता दिन स्थानीय तहहरूले सहयोग रकम जुटाएका हुन् ।





