त्रिशूली । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण नुवाकोटका चार स्थानीय तहका एक हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक सार्वजनिक भएको छ। जिल्ला प्रशासन कार्यालय नुवाकोटका अनुसार विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिकाका परिवार बाढीबाट प्रभावित भएका हुन्। बाढीले कतिपय घर बगाउनुका साथै घरभित्र पानी तथा लेदो पस्दा बस्नै नमिल्ने अवस्था बनेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार स्थानीय तहका वडा कार्यालय तथा सम्बन्धित निकायबाट घरधनीको नामावलीसहित प्राप्त सिफारिसका आधारमा प्रारम्भिक लगत तयार गरिएको हो। प्रभावित परिवारको विवरण संकलन अझै जारी रहेकाले क्षतिको संख्या थपिन सक्ने उनले बताए। प्रारम्भिक विवरणअनुसार विदुर नगरपालिकामा सबैभन्दा बढी एक हजार ६७८ परिवारको आवासमा क्षति पुगेको छ। त्यस्तै बेलकोटगढी नगरपालिकामा १९५, तारकेश्वर गाउँपालिकामा ४८ र किस्पाङ गाउँपालिकामा ३४ परिवार प्रभावित भएका छन्।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार बाढीबाट अधिकांश प्रभावित परिवारका घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने घरभित्र रहेका लत्ताकपडा, खाद्यान्न, भाँडाकुँडा, कागजपत्रलगायतका सामग्रीसमेत नष्ट भएका छन्। क्षतिग्रस्त तथा बाढी पसेर बस्न अयोग्य बनेका घरमा पुनः नबस्न प्रभावितलाई आग्रह गरिएको उनले बताए। जोखिमयुक्त घर तथा बाढीको बहाव पुगेका स्थानबाट प्रभावितलाई सुरक्षित क्षेत्रमा स्थानान्तरण गरी होल्डिङ सेन्टरबाट क्रमशः कोठामा बस्ने व्यवस्था मिलाइएको छ। नगरपालिकाले कोठा भाडाबापत मासिक १० हजार रुपैयाँ उपलब्ध गराउनुका साथै भान्सा, सरसफाइ तथा आवश्यक बन्दोबस्तीका सामग्रीसमेत उपलब्ध गराउँदै आएको जनाएको छ।
कोठा भाडामा लिएर बस्न नचाहने वा उपयुक्त कोठा पाउन नसकेका प्रभावित परिवारका लागि सरकारले अस्थायी आवास निर्माणको तयारीसमेत अघि बढाएको छ। सघन सहरी तथा भवन निर्माण आयोजनाले प्रभावित परिवारको आवश्यकता पहिचान गर्न स्थलगत रूपमा लगत संकलन गरिरहेको छ। हालसम्म संकलित विवरणमा ४८६ परिवारले अस्थायी आवास निर्माण भएमा आफूहरूलाई सहज हुने बताएका छन्। आयोजना प्रमुख शशिन्द्र घिमिरेका अनुसार प्रभावित परिवारको माग र आवश्यकताका आधारमा अस्थायी आवास निर्माणको प्रक्रिया अघि बढाइनेछ।
भोटेकोशी बाढीपछि नुवाकोटमा क्षतिग्रस्त घर तथा संरचनाको विस्तृत विवरण संकलन, प्रभावित परिवारको व्यवस्थापन र पुनर्स्थापनाका काम विभिन्न निकायको समन्वयमा अघि बढाइएको छ। प्रशासनका अनुसार प्रारम्भिक लगतमा छुटेका परिवारसमेत समावेश गरी क्षतिको अन्तिम विवरण तयार गरिनेछ। अन्तिम तथ्यांकका आधारमा प्रभावित परिवारका लागि अस्थायी आवास तथा आवश्यकताअनुसार स्थायी आवास निर्माण र पुनःस्थापनाका कार्यक्रम अघि बढाउने तयारी गरिएको छ।





