काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा भन्सार छली गरी ल्याइएका सामान भण्डारण तथा बिक्री वितरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले असोज २ गते उपत्यकाका विभिन्न स्थानमा गरिएको अनुसन्धान तथा निगरानीका क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ परेका व्यक्तिहरूले प्रयोग गर्दै आएका गोदाम तथा भण्डारणस्थलबाट विभिन्न प्रकारका सामानसमेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–८ घर भई हाल काठमाडौंको कपन बस्ने ३६ वर्षीय नवराज चौलागाईं, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने ३८ वर्षीया अस्मिता हुमागाईं र सिन्धुलीको कमलामाई नगरपालिका–८ घर भई हाल काठमाडौं महानगरपालिका–९ बस्ने ३८ वर्षीय जनकप्रसाद न्यौपाने रहेका छन्।
प्रहरीका अनुसार नवराज चौलागाईं र अस्मिता हुमागाईंलाई बूढानीलकण्ठ नगरपालिका–१० कपनबाट तथा जनकप्रसाद न्यौपानेलाई काठमाडौं महानगरपालिका–७ चाबहिलबाट पक्राउ गरिएको हो। उनीहरूबाट बरामद भएका सामानको स्रोत तथा भन्सारसम्बन्धी विवरणबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।
पक्राउ परेका तीनै जनालाई बरामद सामानसहित थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर, काठमाडौंमा पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले भन्सार छली गरी ल्याइएका सामानको कारोबारमा संलग्न अन्य व्यक्तिबारे समेत अनुसन्धान भइरहेको जनाएको छ।





