काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको दैनिक जीवनसँग जोड्दै बाँकी कार्यभार पूरा गर्नु अहिलेको मुख्य दायित्व भएको बताएका छन्। संविधान दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधानले परिकल्पना गरेको वास्तविक परिवर्तनलाई व्यवहारमा उतार्न सबैको एकताबद्ध प्रयास आवश्यक रहेको बताएका हुन्।
प्रचण्डले संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा जनताले प्राप्त गरेका अधिकारलाई पछाडि फर्काउने कुनै पनि प्रयत्न स्वीकार्य नहुने बताएका छन्। संविधानका मूल्य, मान्यता र जनअधिकारलाई कमजोर पार्ने गतिविधिविरुद्ध लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा उनले जोड दिएका छन्। उनका अनुसार संविधानको प्रभावकारी कार्यान्वयनमार्फत प्राप्त उपलब्धिको संरक्षण र बाँकी कार्यभार पूरा गर्न राजनीतिक तथा सामाजिक शक्तिहरूबीच सहकार्य आवश्यक छ।
उनले राजनीतिक परिवर्तनलाई आर्थिक तथा सामाजिक रूपान्तरणसँग जोड्नुपर्नेमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी, उत्पादन र समान अवसरमा सबै नागरिकको पहुँच सुनिश्चित गर्नुपर्ने बताएका छन्। संविधानका अक्षरमा मात्र सीमित नभई त्यसको मर्म र भावनालाई नागरिकले आफ्नो दैनिक जीवनमा अनुभूति गर्ने गरी कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ।
संयोजक दाहालले संविधानलाई केवल कानुनी दस्ताबेजका रूपमा मात्र बुझ्न नहुने बताएका छन्। उनका अनुसार संविधान नेपाली जनताको लामो राजनीतिक संघर्ष, त्याग र बलिदानबाट प्राप्त ऐतिहासिक राजनीतिक उपलब्धिको संस्थागत अभिव्यक्ति हो। त्यसैले संविधानले सुनिश्चित गरेका अधिकार र उपलब्धिलाई व्यवहारमा स्थापित गर्दै सामाजिक न्याय, सुशासन, विकास र समृद्धिको दिशामा अघि बढ्नुपर्ने उनले उल्लेख गरेका छन्।
संविधान दिवसका अवसरमा उनले संविधानले परिकल्पना गरेको परिवर्तनलाई पूर्णता दिन सबै पक्ष जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्नुपर्ने सन्देश दिएका छन्। जनताले प्राप्त गरेका अधिकारको संरक्षणसँगै संविधानको प्रभावकारी कार्यान्वयन र बाँकी कार्यभार पूरा गर्नु राज्य तथा राजनीतिक शक्तिहरूको साझा जिम्मेवारी भएको उनको भनाइ छ।





