काठमाडौं । नेकपा नेता कमल ढकालले संविधान समयअनुसार परिमार्जन र संशोधन गर्न सकिने दस्तावेज भएको बताएका छन्। उनले लोकतन्त्र जनताको सार्वभौम अधिकार, स्वतन्त्रता, समानता र सहभागितामा आधारित शासन व्यवस्था भएकाले संविधानले लोकतान्त्रिक मूल्य र नागरिकका अधिकारलाई संस्थागत गर्ने बताएका हुन्।
ढकालका अनुसार संविधानले राज्य सञ्चालनका आधारभूत नियम र नागरिकका अधिकारलाई सुनिश्चित गरे पनि समाज, अर्थतन्त्र, प्रविधि र जनआकांक्षामा आउने परिवर्तनसँगै त्यसमा आवश्यक सुधार गर्नुपर्छ। उनले संविधान संशोधनलाई लोकतन्त्रको कमजोरीका रूपमा नभई बदलिँदो आवश्यकता सम्बोधन गर्ने लोकतान्त्रिक प्रक्रियाका रूपमा बुझ्नुपर्ने धारणा व्यक्त गरेका छन्।
उनले सामान्य राजनीतिक स्वार्थ वा तत्कालीन सत्ता समीकरणलाई केन्द्रमा राखेर गरिने संशोधनलाई युगान्तकारी परिवर्तन भन्न नसकिने बताएका छन्। राज्यको संरचना, शासन प्रणाली, अधिकारको प्रयोग, जवाफदेहिता तथा जनताको दैनिक जीवनसँग जोडिएका दीर्घकालीन समस्यालाई सम्बोधन गर्ने गरी गरिने दूरदर्शी सुधारलाई मात्र युगान्तकारी संशोधनका रूपमा लिनुपर्ने उनको भनाइ छ।
ढकालले संविधान संशोधन व्यापक राष्ट्रिय बहस, राजनीतिक सहमति, नागरिक सहभागिता र संवैधानिक प्रक्रियाबाट हुनुपर्नेमा जोड दिएका छन्। उनका अनुसार संविधानका आधारभूत लोकतान्त्रिक मूल्य, मानवअधिकार, विधिको शासन र समावेशितालाई कमजोर बनाउने नभई थप सुदृढ गर्ने दिशामा संशोधन केन्द्रित हुन आवश्यक छ।
समयको माग र जनताको बदलिँदो अपेक्षालाई बुझेर संविधानलाई थप प्रभावकारी र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै ढकालले संविधानलाई जनताको भरोसाको दस्तावेजका रूपमा विकास गर्नुपर्ने बताएका छन्। उनका अनुसार राज्य सञ्चालनमा देखिएका दीर्घकालीन समस्या समाधान गर्दै लोकतान्त्रिक व्यवस्थालाई थप बलियो बनाउने गरी गरिने संविधान संशोधन नै युगान्तकारी संशोधनको सार हो।





