काठमाडौं । आज असोज ३ गते, विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइँदै छ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित नेपालको संविधान जारी गरेका थिए । संविधान जारी भएको दिनलाई नेपाली राजनीतिक इतिहासमा लामो संघर्ष, आन्दोलन र जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण दिनका रूपमा लिइन्छ ।
नेपालमा वर्तमान संविधानसम्मको यात्रा भने लामो राजनीतिक संघर्ष र परिवर्तनका विभिन्न चरणबाट अघि बढेको हो । राणा शासनविरुद्धको आन्दोलनदेखि प्रजातन्त्रको स्थापना, त्यसपछिका राजनीतिक उतारचढाव, पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष, २०४६ सालको जनआन्दोलन हुँदै २०६२/६३ को दोस्रो जनआन्दोलनसम्म नेपाली जनताले राजनीतिक अधिकार र लोकतान्त्रिक व्यवस्थाका लागि निरन्तर संघर्ष गरेका थिए । ती आन्दोलनका क्रममा धेरै नागरिकले ज्यान गुमाए, घाइते भए तथा जेल, यातना र विभिन्न प्रकारका दमनको सामना गरे । जनताको त्यही संघर्षले नेपाललाई क्रमशः निरंकुशताबाट लोकतान्त्रिक गणतन्त्रतर्फ अघि बढाएको हो ।
२०६२/६३ को जनआन्दोलनपछि भएको राजनीतिक परिवर्तनले संविधान निर्माणका लागि नयाँ आधार तयार गर्यो । २०६३ सालमा जारी भएको अन्तरिम संविधानमार्फत मुलुकलाई नयाँ राजनीतिक दिशामा अघि बढाइयो भने २०६४ सालमा पहिलो संविधानसभाको निर्वाचन भयो । संविधानसभाले राजतन्त्र अन्त्य गरी २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि २०७० सालमा दोस्रो संविधानसभाको निर्वाचन भयो । लामो छलफल, राजनीतिक सहमति र असहमतिका बीच संविधानसभाले २०७२ साल असोज ३ गते नेपालको संविधान जारी गरेको थियो ।
नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, धर्मनिरपेक्षता, समावेशिता, मौलिक हक, मानव अधिकार, सामाजिक न्याय तथा समानुपातिक सहभागितालाई संवैधानिक आधार दिएको छ । संविधानले सात प्रदेशसहितको संघीय संरचना, तीन तहको सरकार तथा नागरिकका विभिन्न मौलिक अधिकारको व्यवस्था गरेको छ । महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका तथा सीमान्तकृत समुदायको प्रतिनिधित्व र सहभागिताका लागि समेत संवैधानिक प्रबन्ध गरिएको छ । यी व्यवस्थालाई विगतका आन्दोलन र संघर्षबाट प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्ने प्रयासका रूपमा बुझिन्छ ।
संविधान दिवसले मुलुकमा भएका राजनीतिक आन्दोलन, संघर्ष र बलिदानको स्मरण गराउँदै संविधानले सुनिश्चित गरेका अधिकार र व्यवस्थाको कार्यान्वयनप्रति राज्य तथा नागरिकको जिम्मेवारीसमेत सम्झाउने अवसर प्रदान गर्छ । दिवसका अवसरमा सरकार तथा विभिन्न संघसंस्थाले प्रभातफेरी, अन्तरक्रिया, गोष्ठी, दीप प्रज्वलनलगायत कार्यक्रम आयोजना गर्दैछन् । संविधान निर्माणसम्म आइपुग्न योगदान गर्ने ज्ञात–अज्ञात सहिद तथा आन्दोलनमा जीवन उत्सर्ग गर्ने नागरिकको योगदानको स्मरण गर्दै संविधानको संरक्षण, कार्यान्वयन र समयानुकूल सुधारका विषयमा समेत आज विभिन्न क्षेत्रमा बहस हुने गरेको छ ।





