काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल र नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टबीच शिष्टाचार भेटवार्ता भएको छ।
संघीय संसद्, प्रतिनिधि सभाका सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–अष्ट्रेलिया सम्बन्ध, संसदीय सहकार्य, जनस्तरीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको थियो।

भेटमा सभामुख अर्यालले संघीय संसद्ले नेपाल–अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको जानकारी गराउँदै उक्त समूहलाई प्रभावकारी रूपमा परिचालन गरी दुवै देशका सांसदबीच नियमित आदानप्रदान र संस्थागत सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले साझा हितका क्षेत्रमा सहकार्य विस्तार तथा पारस्परिक समझदारी अभिवृद्धिका लागि संसदीय मैत्री समूहले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो।
सभामुख अर्यालले नेपालको सामाजिक तथा आर्थिक विकासमा अष्ट्रेलिया सरकारले लामो समयदेखि पुर्याउँदै आएको सहयोगको प्रशंसा गर्दै अष्ट्रेलिया अवार्ड स्कलरसिप, क्षमता अभिवृद्धि तथा तालिमका अवसरमार्फत नेपालको मानव संसाधन विकासमा पुर्याएको योगदानप्रति आभार व्यक्त गर्नुभयो।

उहाँले नेपाल–अष्ट्रेलिया सम्बन्धको महत्वपूर्ण आधारका रूपमा जनस्तरीय सम्बन्ध रहेको उल्लेख गर्दै उच्च शिक्षाका लागि अष्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताउनुभयो। अष्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थी तथा त्यहाँ बसोबास गर्ने नेपाली समुदायले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उहाँको भनाइ थियो।
भेटका क्रममा सभामुख अर्यालले राजदूत अन्स्र्टमार्फत अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकप्रति हार्दिक अभिवादन तथा शुभकामना व्यक्त गर्नुभयो।
भेटमा अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप सुदृढ बनाउन संसदीय तहको सहकार्य तथा जनस्तरीय सम्बन्धको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले शिक्षा, मानव संसाधन विकास तथा संसदीय सहकार्यलगायतका क्षेत्रमा हुँदै आएको सहयोगलाई आगामी दिनमा थप विस्तार गर्न आफ्नोतर्फबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।









