काठमाडौं । नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच लोवर रूलेखोला जलविद्युत् आयोजनाको निर्माण तथा सञ्चालनका लागि कर्जा सम्झौता भएको छ । चितवन इनर्जीले प्रवर्द्धन गर्न लागेको ४.७५ मेगावाट क्षमताको उक्त आयोजना प्रस्तावित रूपमा ६.१५ मेगावाट क्षमतामा विस्तार गर्ने योजना रहेको छ ।
सम्झौताअनुसार आयोजनाको कुल परियोजना लागतमा कर्जा र स्वपुँजीको अनुपात ७०ः३० कायम हुनेछ । सोअनुसार आयोजनाका लागि आवश्यक वित्तीय व्यवस्थापन नेपाल बैंक लिमिटेडले गर्ने भएको छ । कर्जा सम्झौताले आयोजनाको निर्माण कार्य अघि बढाउन आवश्यक स्रोत व्यवस्थापनमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौतामा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तिलकराज पाण्डेय र चितवन इनर्जी लिमिटेडका सञ्चालक गोपालप्रसाद निरौलाले हस्ताक्षर गर्ने जनाइएको छ । कार्यक्रममा सीईओ पाण्डेयले चितवन इनर्जीलाई वित्तीय सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै आयोजना सफलतापूर्वक निर्माण तथा सञ्चालन होस् भन्ने शुभकामना दिने बताइएको छ ।
त्यस्तै, चितवन इनर्जीका सञ्चालक निरौलाले आयोजनाका लागि वित्तीय साझेदार बनेकोमा नेपाल बैंकप्रति आभार व्यक्त गर्दै बैंकको सहयोगले आयोजना निर्धारित समयमै सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नेछन् । उनले आयोजना समयमै निर्माण सम्पन्न गरी व्यावसायिक उत्पादन सुरु गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्ने जनाइएको छ ।

कर्जा सम्झौतासँगै नेपाल बैंकले ऊर्जा क्षेत्रमा आफ्नो लगानी विस्तार गर्दै जलविद्युत् विकासमा निजी क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाएको छ । बैंकको वित्तीय सहयोगले लोवर रूलेखोला जलविद्युत् आयोजनाको निर्माण प्रक्रियामा गति आउने तथा निर्धारित समयमै आयोजना सम्पन्न भई विद्युत् उत्पादनमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।









