उहिले हाम्रो पालामा, चारै बजे उठेर
खाजा तयार पार्नुपर्थ्यो, मकै भुटेर !

बिहानै उठेर ,दैलो पोतो गरेर
दुई भारी घाँस काट्नुपर्थ्यो बेसी झरेर !!

बिहानै उठेदेखि नसुतुन्जेल रातिमा ,
तिरस्कारको पीडा हुन्थ्यो मेरो छातीमा !
रुखो बोली बोल्ने सासु बस्न पर्थ्यो खपेर ,
मेलापाता भ्याउनु पर्थ्यो सबलाई टपेर !!
आधा घण्टा ढिला भए, खानुपर्थ्यो टोकेसो
पतिले नि सुन्दैनथे ,मेरो दुखेसो !
सानोतिनो कुरा पनि, आमालाई नै सोधनी
त्यो घरमा गएदेखि भएँ ओदनी !!
एउटा चोली फेर्न पनि, सासुकै भर परेर
आउँदैनथ्यो पतिबाट पैसा झरेर!
अरु सोचाई केही आउँदैन, चिन्ता सधैँ कामको
न छोराको मिठो बोली, न त आमाको !!
कहिल्यै गइन बजार घुम्न कहिल्यै भैन रमाइलो
न उदाए आङ्मा घाम, न छ रमाइलो !
माइत जाउँ भने पनि टाढा थियो माइतीघर ,
जुन घर छोडी आएँ त्यतै कति पर्नु भर !!
कहाँ गएर पोखौँ भाथ्यो, मनको बह बिलौना
फाटेको मन नसकिने रहेछ सिलाउन !
कस्तो दिनमा जन्मियो खै कस्तो घरमा परियो ,
त्यो घरमा गएदेखि जिउँदै मरियो !!
श्रीराम रानाभाट
हाल – दुबई, यूएई ।









