लमजुङ । ‘कालो सुन’का रूपमा परिचित अलैँची खेतीले लमजुङका किसानको जीवनस्तर सुधार्दै ग्रामीण अर्थतन्त्रलाई बलियो बनाएको छ । विसं २०४१ देखि विस्तार हुन थालेको अलैँची अहिले जिल्लाको प्रमुख नगदेबाली बनेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवासमेत यस खेतीमा आकर्षित भएपछि लमजुङ अलैँची उत्पादनको महत्त्वपूर्ण क्षेत्रका रूपमा स्थापित हुँदै गएको छ ।
मर्स्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङले दुबईबाट फर्किएर ४० रोपनीमा अलैँची खेती गर्दै दाना र बिरुवा बिक्रीबाट वार्षिक करिब रु १५ लाख आम्दानी गर्दै आएका छन् । नेपाल अलैँची व्यवसायी महासङ्घ लमजुङका अध्यक्ष सोमबहादुर तामाङले पनि मलेसियाबाट फर्किएपछि एक रोपनीबाट सुरु गरेको खेती अहिले ३० रोपनीभन्दा बढीमा विस्तार गरेका छन् । मर्स्याङ्दी–५ का गज घलेलगायत अन्य कृषकले पनि अलैँची खेतीबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् ।

केही वर्षअघि रोगका कारण उत्पादन प्रभावित भए पनि यस वर्ष प्रतिकिलो रु एक हजार ८०० देखि रु दुई हजार ५०० सम्म मूल्य पाएपछि किसान उत्साहित भएका छन् । अलैँची खेतीका कारण बाँझो जमिन हराभरा बगानमा परिणत हुनुका साथै गाउँ छाडेका युवा पनि स्वदेश फर्किएर कृषि व्यवसायमा लाग्न थालेका छन् ।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार चालु आर्थिक वर्षमा १३५ मेट्रिकटन अलैँची बिक्रीबाट जिल्लामा रु २४ करोड ३० लाख आम्दानी भएको छ । उत्पादन केही घटे पनि मूल्य बढेका कारण किसानको आम्दानी वृद्धि भएको कृषि अधिकृत हरिबहादुर मिजारले बताए । हाल जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको छ भने उत्पादन वृद्धि, रोग व्यवस्थापन र स्थिर बजार सुनिश्चित गर्न सके यसले लमजुङको ग्रामीण अर्थतन्त्रलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।



















