काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बाढीपहिरोका कारण अवरुद्ध बनेको सडक भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले निर्माण कार्य तीव्र पारेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले भदौ १७ गते प्रतिनिधिसभामा सम्बोधनका क्रममा भदौको अन्तिमसम्ममा कृष्णभीरको सडक निर्माण सम्पन्न गरी यातायात सहज बनाउने लक्ष्य रहेको बताएअनुसार निर्माण कार्यलाई तीव्रता दिइएको हो।
कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने काम भइरहेको छ। उक्त निर्माणका लागि १० वटा मेसिन र ३० जना कर्मचारी परिचालन गरिएको छ। निर्माण कार्यलाई चौबीसै घण्टा सम्भव भएसम्म निरन्तरता दिन सशस्त्र प्रहरी बल, नेपालले निर्माण क्षेत्रमा फ्लडलाइटसमेत जडान गरिदिएको छ। फ्लडलाइटको व्यवस्थापछि रातिको समयमा समेत काम भइरहेको छ र दैनिक १२ देखि १४ घण्टासम्म निर्माण कार्य सञ्चालन भइरहेको छ।

नयाँ ट्रयाक निर्माणसँगै सम्भावित पहिरो रोकथामका लागि सडकको माथिल्लो र तल्लो दुवै क्षेत्रमा काम भइरहेको छ। पृथ्वी राजमार्गकै अन्य पाँच स्थानमा गएको पहिरो पन्छाउने तथा दुईतर्फी यातायात सञ्चालनमा ल्याउने काम पनि समानान्तर रूपमा अघि बढाइएको छ। सरकारले कृष्णभीरसहित राजमार्गका अन्य जोखिमयुक्त क्षेत्रमा समेत यातायात सहज बनाउने गरी आवश्यक जनशक्ति तथा उपकरण परिचालन गरेको जनाएको छ।
यही भदौ १० गते आएको बाढीका कारण कृष्णभीर क्षेत्रको सडक कमजोर बनेको थियो। त्यसपछि भदौ १४ गते भोटेकोशीमा आएको बाढीका कारण सडक थप भासिएपछि सोही दिन सरकारी टोलीले स्थलगत निरीक्षण गरेको थियो। त्यसलगत्तै प्रधानमन्त्री शाह र पूर्वाधारमन्त्रीबीच तत्काल सडक मर्मत गरी यातायात सञ्चालनमा ल्याउने विषयमा छलफल भएको थियो।

यसक्रममा सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीका प्राविधिक टोलीले चार दिनसम्म द्रुत अध्ययन गरेका थिए। अध्ययनपछि कृष्णभीरको पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्ने विकल्पलाई प्राथमिकतामा राखिएको हो। सरकारले उक्त विकल्पअनुसार निर्माणलाई तीव्रता दिँदै भदौभित्रै सडक सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ।









