काठमाडौं । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै प्रभावित क्षेत्रको जनजीवन तहसनहस बनेको छ। बाढीपहिरोले घर, सडक, पुल तथा अन्य भौतिक संरचनामा क्षति पुर्याउँदा सयौँ परिवार विस्थापित भएका छन् भने कतिपय परिवार आफन्त गुमाएर शोकमा छन्।
यस विपद्को घडीमा बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी छ। यही क्रममा प्रवासी नेपाली ख्रीष्टियन मण्डली, दमाम, साउदी अरबले प्रा र्सथना सहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख रुपैयाँ सहयोग गरेको छ।

मण्डलीले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको पीडामा ऐक्यबद्धता जनाउँदै उक्त रकम सहयोगस्वरूप पठाएको हो। विपद्का कारण आधारभूत आवश्यकता पूरा गर्नसमेत कठिन अवस्थामा रहेका पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले सहयोग गरिएको मण्डलीले जनाएको छ।
मण्डलीले विपद्को यस कठिन समयमा पीडित परिवारको साथमा रहेको जनाउँदै मानवीय सेवामा सबैलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न आह्वानसमेत गरेको छ। विदेशमा रहेर पनि मातृभूमिमा परेको विपद्मा सहयोग गर्न पाउनु आफ्नो सामाजिक तथा मानवीय दायित्व भएको मण्डलीको भनाइ छ।

बाढीले तहसनहस बनाएको जनजीवनलाई सामान्य अवस्थामा फर्काउन तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र पुनर्निर्माण आवश्यक देखिएको छ। यस्तो अवस्थामा प्रवासी नेपाली ख्रीष्टियन मण्डली दमामले गरेको १ लाख रुपैयाँको सहयोगले पीडित नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।









