काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेर उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीका परिवारसँग सरकारले लगातार छलफल गरिरहेको छ । शनिबार साँझ ५ बजेदेखि सुरु भएको छलफल आइतबार बिहान पनि जारी छ ।
त्रिपुरेश्वर स्थित राहदानी विभाग अगाडी असार २५ मा आफैँलाई आगो लगाएका गणेशको भोलिपल्ट मृत्यु भएको थियो । उनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगेर राखिएको छ । परिवारसँग सहमति नहुँदा पोस्टमार्टम सुरु भएको छैन् । काठमाडौँका प्रजीअ ईश्वरराज पौडेलले शव शिक्षण अस्पतालमा ‘फ्रिजिङ’ गरिएको बताए ।

शनिबार साँझ ५ बजेदेखि पीडितका परिवारसँग छलफल चलिरहेको प्रजीअ पौडेलले बताए । उनले भने, ‘छलफल भइरहेको छ ।’काठमाडौँ महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी उपलब्ध गराउने र सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ । त्यसबारे कार्यपालिका बैठकबाट निर्णय गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएका थिए ।
मोटरसाइकल पार्किङको बारेमा महानगर प्रहरीसँग विवाद भएपछि गणेशले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् । प्रहरीले महानगर प्रहरी मिना नगरकोटी, मिना तामाङ र अर्का एकजना पुरुषलाई घटनाबारे सोधपुछ गरेको थियो । आत्मदाह अघि मिना नगरकोटीले मोटरसाइकलमा ‘ह्वील लक’ गरेर विवाद गरेको भेटिएको छ । घटना छानबिन गर्न डीआईजी गोविन्द थपलियाको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ । गणेश मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ का स्थानीय हुन् ।









