श्रीराम रानाभाट, युएई। ‘यस्ता अमुल्य वस्तुहरु छन् आफैसँग तर आफैले नदेखेका ‘
विश्वास गर पानीमा, नाम लेखिँदैन

यदि लेखौँ भने पनि, लेखाई देखिँदैन
तिमी भन्छौ पत्थरको, मुटु रहेछ तिम्रो
तर पत्थरमा लेखिएको,नाम मेटिँदैन ।
एकजना व्यक्ति जतिबेला रिसाइरहने। आफ्नो कामलाई लिएर,आफ्ना श्रीमती छोराछोरीलाई लिएर,अनि त्यो परिवारलाई उठाउनुपर्ने जिम्मेवारीलाई लिएर । आफ्नो घरमा आइरहने आफ्ना आफन्तहरूको उपस्थिति र अपेक्षालाई लिएर ।
एकदिन कामबाट आएर ठस्स बसेको थियो । छोरा आयो, “बाबा हजुरलाई यो होमवर्क गर्न आउँछ..? आउँछ भने सिकाइहाल्नुस् त । उसलाई झनक्क रिस उठ्यो ,गाली गर्यो ‘म मेरो काम गरु कि तेरो..’? सुन्नुपर्यो नि स्कुलमा सर म्याडमले भनेका कुरा …,नबुझे सोध्नु पर्यो । पैसो तिरेको छ । आफ्नो पनि बुद्धि खेलाउनु पर्यो । छोरालाई नराम्रो लाग्यो र उठेर गयो ।
रिस शान्त भएपछि निकै अबेर छोरा सुतेको कोठामा गयो । छोरा हातमा किताब र नोटबुक लिएर झपक्क निदाइरहेको थियो । छोराको हातबाट बिस्तारै नोटबुक झिकेर पल्टाउन थाल्यो के को होमवर्क सोधेको रहेछ के लेखेको रहेछ । त्यो नोटबुकमा प्रश्न थियो- “पहिला आफूलाई मन नपरेको तर, बिस्तारै मन पर्न थालेको कुराहरु बुँदागत रुपमा लेख । यो प्रश्नको उत्तरमा छोराले लेखेको थियो:
१) म धन्य छु मेरा गुरुहरूप्रति यो लामो होमवर्क दिनुभएकोमा । सुरुमा थाहा थिएन स्कुल बिदा हुँदैछ केही समयका लागि भनेर रिस उठ्यो ,तर होमवर्क त स्कुल बिदाका लागि दिनुभएको रहेछ।
२) म धन्य छु ,जसले अलाराम लाउने घडी बनाउनु भयो । बिहान जब अलाराम बजेर उठ्नुपर्छ रिस उठ्छ । तर त्यसले म जिउँदो भएको जानकारी दिँदो रहेछ । समयमा उठ्ने अनुशासन पनि सिकाएको हुँदो रहेछ ।
३) म धन्य छु भगवान त्यो औषधिका लागि जुन खानै मन लाग्दैन । तर औषधि खाएको भोलिपल्ट म चङ्गा भएर घुमफिर गर्न सक्छु । स्कुलमा गएर खेल्न सक्छु, पढ्न सक्छु ।
४) म धन्य छु भगवान जसले मेरा बाबाआमालाई जन्म दिनुभयो । आज उहाँ मेरो बुबा हुनुहुन्छ । उहाँको बेलाबेलाको हप्कीले मलाई दुःख त लाग्छ तर मलाई चाहिने सम्पूर्ण चिज उपलब्ध गराउनुहुन्छ । कति साथीभाई भन्छन् मेरा त बुवा नै हुनुहुन्न । मेरो त बुबा हुनुहुन्छ…मेरो आकाश ।
छोराको यो समझदारीपूर्ण तरिकाले लेखिएको नोटबुकका हरफहरू पढ्दा पढ्दै दुईटा आँखाका चेप हुँदै आँसु गुल्टिँदै नोटबुकमा झरेपछि बाबुलाई महसुस भयो, “सानो मान्छे भनेर के हेप्नु ? उसको विवेकले घाएल बनाइदियो । दिमाग उघारिँदै गयो । निन्द्रामा लुटपुटिएको छोराको निधारमा चुम्बन गर्यो र आफ्नो कोठामा गएर आफ्नै दिमागलाई सम्झाउन थाल्यो ।
१) म आफ्नो काम र कमाइबाट खुसी छैन तर हजारौं मान्छे बेरोजगार छन् । मेरो जस्तो काम खोजिरहेका छन् । भगवान मेरो छोरालाई माध्यम बनाएर आँखा खोलिदिनुभयो म हजुरप्रति आभारी छु । मसँग जागिर छ ।
२) मैले मेरो परिवारको सारा जिम्मेवारी उठाउनुपर्छ मतलब मसँग परिवार छ ,श्रीमती छन् ,छोराछोरी छन् । म उनीहरु भन्दा भाग्यमानी छु जसको विचारा परिवारै छैनन्, सन्तान छैनन् एक्लै छन् ।
३) इष्टमित्र पाहुना पाछा मेरोमा आइरहन्छन् मतलब मेरो सामाजिक स्टाटस राम्रो छ । मेरो सुखमा दुःखमा उनीहरू छन् । आश गर्छन् मतलब दिने हैसियतमा रहेछु । गुनासो गर्छन् मतलब मेरा कमजोरीहरु सुधार्नलाई होला । धन्यवाद भगवान सबै कुराका लागि मलाई माफ गर्दिनुस् मैले हजुरको दयालाई चिन्न सकिन ।
बिहान उठ्ने बित्तिकै सृष्टिकर्तालाई धन्यवाद दिनुहोस् हजुरले अर्को दिन पाउनुभयो । दिनौं लाखौं मान्छेले अर्को दिन देख्न पाउँदैनन् । कृतज्ञ रहनुहोस् तपाईं स्वस्थ हुनुहुन्छ। दैनिक हजारौं मान्छे अस्वस्थताका कारण अल्पायुमै गुज्रने गर्छन् । घर छ ,पानी ओत्छ ,सुत्ने ठाउँ छ। करोडौँ मान्छे घरबारविहीन छन्,ओत्नलाई घर छैन । तपाईंलाई भोको बस्नु परेको छैन । मिठो नमिठो पेट भरिएको छ। तपाईँलाई थाहै छ लाखौं मान्छे खानाको अभावले बर्सेनी कुपोषण भएर मर्ने गर्छन् । पढ्न त पाउनुभएको छ तर प्राइभेट विद्यालय मा पढ्न पाउनु भएन या नाम चलेकोमा पढ्न पाइन भन्ने गुनासो होला । अझै पनि हाम्रै देशमा कति ठाउँमा विद्यालय छैनन् । भए पनि दुई तीन घण्टा लागेर जानुपर्छ ।
तपाईँ हिँड्न सक्नुहुन्छ, दौडिन सक्नुहुन्छ, बोल्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ सुन्न सक्नुहुन्छ । धन्य रहनुस् यी सबै गर्न नसक्ने मान्छेहरु पनि छन् । जति पनि हाम्रा दुःख र समस्याहरू छन् तिनीहरूलाई हामी नकारात्मक दृष्टिकोणबाट हेर्ने गर्छौं । तर तिनै चिजलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने हाम्रो सोचाई, हाम्रो जीवन अवश्य बदलिन सक्छ । सबै थोकको प्राप्तिपछि हामीलाई चाहिने खुसी नै हो । खुसी रहनुहोस् मस्त रहनुस् । खुसी केवल महलमा मात्र होइन। झुपडीमा पनि मिल्छ तर सन्तुष्ट बन्न जान्नुपर्छ ।










