कृष्ण कुँवर पर्बत। फलेवास नगरपालिका–२, थापाठानाकी मनीषा भण्डारी एस.ई.ई. परीक्षा दिन अन्नपूर्ण माध्यमिक विद्यालय, कार्कीनेटा जाने क्रममा सवारी दुर्घटनामा परेकी थिईन्।
दुर्घटनामा उनको कुर्कुच्चामा गम्भीर चोट लागेपछि प्रारम्भिक उपचारका लागि उनलाई फेवा सिटी अस्पताल पोखरा लगिएको थियो।

चिकित्सकको सिफारिसअनुसार थप उपचारका लागि उनलाई काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा रेफर गरिएको छ, जहाँ हाल उनको उपचार भइरहेको छ।
थापाठाना माध्यमिक विद्यालयकी जेहनदार विद्यार्थी मनीषा भण्डारी समयको हतारमा परीक्षा केन्द्रतर्फ जाँदै गर्दा बाटोमै दुर्घटनामा परेकी हुन्। स्थानीय स्रोतका अनुसार मोटरसाइकलको चेनमा परेर उनको कुर्कुच्चामा गम्भीर चोट लागेको हो।
मनिषाको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको उनका बुबा यो संसारमा नरहेको, आमा एकल महिला भएको र ज्यालादारी गरेर जीवन निर्वाह गर्ने गरेको स्थानीयले बताएका छन्। वडा कार्यालयले जारी गरेको सूचनामा फलेवास–२ निवासी नवकी कुमारी भण्डारीकी छोरी मनीषा भण्डारी २०८२ साल चैत १९ गते बिहान दुर्घटनामा परी गम्भीर घाइते भएको उल्लेख गरिएको छ।
हाल कीर्तिपुर अस्पतालमा उपचार भइरहेको र आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च जुटाउन कठिनाइ भएको भन्दै वडा कार्यालयले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोगका लागि हार्दिक अपिल गरेको छ।
उक्त सूचनामा कार्यवाहक वडा अध्यक्ष गोकुल बहादुर क्षेत्रीको हस्ताक्षर रहेको छ। सहयोगको निम्ति उनकी मामाकी छोरी दिदी संगीता कुँवर को एनआइसी एसिया बैंकको खाता नम्बर 7987041307552401 मनिषालाई सम्पर्क गर्न फोन नम्बर:-9863044000 दिईएको छ।










