काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बिगतमा संसदमा उठाएको मुद्दा पुनः चर्चामा आएको छ। उनले त्यसबेला नै देश विचौलिया र माफियाको प्रभावमा चलेको तथा सरकारसमेत उनीहरूको हितमा काम गरिरहेको आरोप लगाएका थिए। भण्डारीका अनुसार त्यतिबेला उठाइएका ती आवाजहरू अहिले विस्तारै पुष्टि हुँदै गइरहेका छन्।
भण्डारीले देशको वर्तमान अवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै राज्य संयन्त्रभित्रको विकृति र अनियमितताले जनविश्वास कमजोर बनाएको बताएका छन्। उनका अनुसार देश सबैको साझा सम्पत्ति भए पनि केही स्वार्थी समूहले त्यसलाई कब्जामा लिएर लुटपाट गर्ने प्रवृत्ति बढ्दै गएको छ। उनले यस्ता गतिविधिमा संलग्नहरूलाई राष्ट्रका वास्तविक शत्रुका रूपमा चित्रित गरेका छन्।

नेता भण्डारीले वर्तमान परिस्थितिमा निष्पक्ष र निर्मम छानबिन अपरिहार्य रहेको जोड दिएका छन्। उनले कुनै पनि प्रभाव र दबाबमा नपरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन्। पारदर्शिता र जवाफदेहितामार्फत मात्र देशलाई सही दिशामा लैजान सकिने उनको भनाइ छ।










