काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वर शाखाले नागढुङ्गा क्षेत्रबाट यात्रु बोकेको बसमा सवार एक व्यक्तिलाई ४७ ग्राम हेरोइनसहित पक्राउ गरेको जनाएको छ। नियमित चेकजाँचका क्रममा प्रहरीले उक्त परिमाणको लागू औषध बरामद गर्दै संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको लागूऔषध ब्यूरोको DSP जीवन निराैलाले जानकारी दिएका छन्।
ब्यूरोका अनुसार बर्दियाबाट काठमाडौं आउँदै गरेको यात्रु वाहक बसलाई नागढुङ्गा चेकपोस्टमा रोकी जाँच गर्दा जिल्ला बर्दिया, गुलरिया नगरपालिका–१ का २४ वर्षीय निकेश गिरीलाई शंकास्पद अवस्थामा फेला पारिएको थियो। उनलाई खानतलासी गर्दा ४७ ग्राम हेरोइन बरामद भएको जनाइएको छ।

यसै क्रममा लागू औषध कारोवारमा संलग्न रहेको आशंकामा काठमाडौं महानगरपालिका–४ बस्ने ४१ वर्षीय विजय थापालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। थापाको साथबाट डिजिटल तराजु एक थान समेत बरामद गरिएको ब्यूरोले जानकारी दिएको छ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको छ। उनीहरूमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।










