रौतहट। नेपाल संघीय समाजवादी पार्टीको रौतहट जिल्ला कमिटीको बैठक पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीको विशेष उपस्थितिमा सम्पन्न भएको छ।
रौतहट जिल्ला इन्चार्ज लक्ष्मी साह सुनारको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय सदस्य शेख मौलाना वकिललगायत जिल्ला तथा स्थानीय तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
बैठकलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारीले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र अग्रगामी मोर्चालाई थप सशक्त बनाउने विषयमा जोड दिनुभयो। उहाँले पार्टीको राजनीतिक विचार, नीति तथा एजेन्डालाई देशव्यापी रूपमा जनतामाझ पुर्याउन संगठनात्मक गतिविधिलाई तीव्रता दिनुपर्ने बताउनुभयो।
सरकारको कार्यशैलीप्रति अध्यक्ष अन्सारीको कडा आपत्ति
बैठकमा अध्यक्ष अन्सारीले वर्तमान सरकारका केही निर्णय तथा कार्यशैलीप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै राष्ट्रिय हित र लोकतान्त्रिक मूल्य मान्यतामाथि आँच पुग्ने खालका निर्णयहरू भइरहेको आरोप लगाउनुभयो।
विशेषगरी नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्ति तथा त्यससँग सम्बन्धित विषयलगायत सरकारका विभिन्न निर्णयहरू उल्लेख गर्दै उहाँले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउनुभयो।
उहाँले सरकारका पछिल्ला गतिविधिहरूमा निरंकुश तथा तानाशाही प्रवृत्ति देखिन थालेको टिप्पणी गर्दै यस्तो प्रवृत्तिको घोर विरोध र भर्त्सना गर्नुभयो। लोकतान्त्रिक शासन व्यवस्थामा राज्यका हरेक निर्णय संविधान, कानुनी प्रक्रिया, पारदर्शिता र लोकतान्त्रिक मूल्य मान्यताअनुसार हुनुपर्ने उहाँको धारणा थियो।
अध्यक्ष अन्सारीले राष्ट्रिय हित, लोकतान्त्रिक अधिकार, विधिको शासन र नागरिक स्वतन्त्रताको संरक्षणका लागि राजनीतिक दल तथा नागरिक समाजले खबरदारी गर्नुपर्नेमा समेत जोड दिनुभयो।
बैठकका चार महत्वपूर्ण निर्णय
बैठकले रौतहट जिल्लामा पार्टी संगठन विस्तार तथा आगामी राजनीतिक कार्यदिशालाई प्रभावकारी बनाउने उद्देश्यले निम्न निर्णयहरू गरेको छ।
१. जिल्ला अधिवेशन गर्ने निर्णय: आगामी २०८३ साल पौष २४ गते रौतहट जिल्लाको गरुडामा नेपाल संघीय समाजवादी पार्टीको जिल्ला अधिवेशन आयोजना गर्ने निर्णय गरिएको छ।
२. जिल्ला कमिटीको बैठक: आगामी २०८३ साल पौष ३ गते जिल्ला कमिटीको बैठक आह्वान गर्ने निर्णय गरिएको छ।
३. संगठन विस्तार अभियानलाई तीव्रता: रौतहट जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्र, मधेश प्रदेशका आठवटै प्रदेशसभा निर्वाचन क्षेत्र तथा जिल्लाका प्रत्येक वडासम्म पार्टी संगठन विस्तार गर्ने निर्णय गरिएको छ। यसअन्तर्गत साधारण सदस्यता वितरण तथा सक्रिय सदस्यता अभियानलाई तीव्र रूपमा अगाडि बढाउँदै नयाँ सदस्यहरूलाई पार्टी संगठनमा आबद्ध गराउने निर्णय गरिएको छ।
४. शुभकामना आदानप्रदान तथा जनजागरण अभियान: छठ पर्व तथा दीपावलीको अवसरमा रौतहट जिल्लाका प्रत्येक पालिकामा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। साथै, प्रत्येक पालिकामा जनजागरण सभा तथा अभियान सञ्चालन गरी पार्टीको विचार, नीति, सिद्धान्त, सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता र जनअधिकारका विषयमा आम नागरिकलाई जागरुक बनाउने निर्णय गरिएको छ।
अग्रगामी मोर्चालाई निर्वाचनसम्म सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता
बैठकमा अध्यक्ष अन्सारीले सामाजिक न्याय, समानुपातिक समावेशिता, संघीयता, पहिचान, उत्पीडित समुदायको अधिकार, राजनीतिक प्रतिनिधित्व तथा सुशासनका मुद्दालाई पार्टीको प्रमुख राजनीतिक एजेन्डाका रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो।
उहाँले आगामी निर्वाचनमा अग्रगामी मोर्चालाई अझ सशक्त, संगठित र प्रभावकारी बनाउँदै निर्वाचनको परिणामसम्म पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसका लागि मोर्चामा आबद्ध राजनीतिक शक्ति, नेता तथा कार्यकर्ताबीच एकता, सहकार्य र समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो।
बैठकले रौतहट जिल्लाबाट सुरु गरिएको संगठन विस्तार, सदस्यता वितरण, जनजागरण तथा राजनीतिक अभियानलाई पार्टीको राष्ट्रिय संगठन निर्माण अभियानसँग जोड्दै अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल संघीय समाजवादी पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनस्तरमा राजनीतिक पहुँच विस्तार, अग्रगामी मोर्चाको सक्रियता तथा राष्ट्रिय राजनीतिक मुद्दामा आफ्नो भूमिका थप प्रभावकारी बनाउने कार्यदिशा तय गरेको छ।






