काठमाडौं । प्रहरीले नेपाल प्रेसको कार्यलयभित्रै प्रवेश गरेर पत्रकारलाई पक्राउ गरेको छ । सादा पोशाकमा आएका प्रहरीले सुरक्षा र अपराध बिटमा रिपोर्टिङ गर्दै आएका पत्रकार विश्वमणी सुवेदीलाई नियन्त्रणमा लिएको हो ।
पत्रकार सुवेदी नेपाल प्रेसको समाचार कक्षमा कार्यरत रहेको बेलामा तीन जना व्यक्तिहरु कार्यालयभित्र प्रवेश गरेका थिए ।
समाचार कक्षमा रहेका अर्का पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पनि पक्राउ पूर्जी दिएका छैनन् । उनीहरुले आफूहरु अपराध अनुसन्धानबाट आएको र ‘आइजी साब’को आदेश रहेको मात्रै बताएका थिए ।
सुवेदीले छलफलका लागि आउनुपर्ने भए आफ्नै मोटरसाइकलमा आउने बताए पनि प्रहरीले अनुमति दिएनन् । उनीहरुले सुवेदीलाई प्रहरीको गाडीमा हालेर लगेका छन् ।
पत्रकार सुवेदीसँग नेपाल प्रेसले सम्पर्क गर्दा उनको फोन उठेको छैन भने प्रहरीले पनि केही बताएको छैन । प्रहरी स्रोतका अनुसार साइबर ब्यूरोको आग्रहमा अपराध महाशाखाले पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको हो ।
नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरिक्षकमाथि राजीनामाको दबाबसम्बन्धी समाचारको स्रोत खोज्नका लागि पक्राउ गरिएको प्रहरी स्रोतको दाबी छ । सुवेदीलाई अपराध महाशाखाले साइबर ब्यूरोलाई बुझाउने बुझिएको छ ।





