काठमाडौं । अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली दूतावासले नेपालमा विनाशकारी बाढीबाट प्रभावित समुदायको सहयोगका लागि १२ हजार ५०० अमेरिकी डलर प्रदान गरेकोमा बाल्टिमोरस्थित नेपाली भाषी चर्चप्रति आभार व्यक्त गरेको छ। चर्चले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम योगदान गरेको हो।
नेपालमा बाढीका कारण प्रभावित नागरिक तथा समुदायलाई राहत र सहयोग पुर्याउने उद्देश्यले उक्त आर्थिक सहयोग प्रदान गरिएको दूतावासले जनाएको छ। विपद्का कारण कठिन परिस्थितिको सामना गरिरहेका नेपाली नागरिकलाई सहयोग पुर्याउन चर्चले गरेको योगदानलाई दूतावासले महत्त्वपूर्ण कदमका रूपमा लिएको छ।
दूतावासले नेपाली भाषी चर्चको यस योगदानले मानवीय संवेदना, आपसी एकता र परोपकारी भावनालाई प्रतिबिम्बित गरेको उल्लेख गरेको छ। अमेरिकामा रहेका नेपाली समुदायले मातृभूमिमा विपद् पर्दा देखाएको सहयोग र सद्भाव प्रशंसनीय रहेको दूतावासको भनाइ छ।
नेपालमा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न व्यक्ति, संस्था र समुदायबाट सहयोग प्राप्त हुँदै आएको छ। विदेशमा रहेका नेपाली समुदायले आफ्नो देशका नागरिकको दुःखमा साथ दिँदै मानवीय सहयोग प्रदान गर्नुले राष्ट्रिय एकता र सामाजिक उत्तरदायित्वलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।
नेपाली दूतावासले कठिन परिस्थितिमा नेपाल र नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग उपलब्ध गराएकोमा बाल्टिमोरस्थित नेपाली भाषी चर्चप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ। दूतावासले यस सहयोग र प्रतिबद्धताले विपद्बाट प्रभावित समुदायलाई साथ दिने मानवीय भावनालाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरेको छ।






