झापा । बङ्गालको खाडीमा विकसित ‘अर्नव’ चक्रवातको प्रभावले देशका विभिन्न भागसँगै झापामा पनि बाढी तथा डुबानको जोखिम बढेको छ। सम्भावित विपद्बाट जनधनको क्षति हुन नदिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाका आधारमा प्रशासनले कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुन सक्ने जनाएको छ। प्रतिकूल मौसमका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै तल्लो तटीय क्षेत्रमा बाढी र डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको हो।
यतिबेला झापाका किसान पाकेको धान भित्र्याउन व्यस्त छन्। तर, चक्रवातका कारण भारी वर्षा हुन सक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै प्रशासनले तत्काल धान नकाट्न तथा काटिसकेको धान सुरक्षित र ओत लाग्ने स्थानमा भण्डारण गर्न किसानलाई आग्रह गरेको छ। वर्षाका कारण कृषि उपजमा क्षति पुग्न सक्ने भएकाले मौसमको अवस्थालाई ध्यान दिएर काम गर्नसमेत अनुरोध गरिएको छ।
प्रशासनले भारी वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भन्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न र वर्षा भइरहेको समयमा सवारीसाधन चलाउँदा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। त्यसैगरी, अचानक बाढी आउन सक्ने खहरे खोला तथा नदी आसपासको क्षेत्रमा आवतजावत नगर्न, खोला किनारमा माछा मार्ने, दाउरा सङ्कलन गर्ने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सूचनामार्फत सचेत गराइएको छ।
मौसमसम्बन्धी भ्रामक सूचना र हल्लाको पछि नलाग्न आग्रह गर्दै प्रशासनले आधिकारिक निकायबाट जारी हुने पूर्वानुमान तथा सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई अनुरोध गरेको छ। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले बुधबार सुरक्षा निकाय तथा नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिसँग आकस्मिक बैठकसमेत गरेको जनाएको छ।
बैठकपछि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चक्रवातका कारण भारी वर्षा हुन सक्ने पूर्वानुमान आएकाले जनधनको क्षति रोक्न आवश्यक सतर्कता अपनाइएको जानकारी दिए। उनले स्थानीय तह, सुरक्षा निकाय, स्वयंसेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेको बताउँदै सम्भावित विपद्को सामना गर्न सबै पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्।






