हुम्ला । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि सहरमा बसोबास गर्ने नागरिकसरह राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधा पाउनुपर्ने बताएका छन्। उनले शिक्षा, स्वास्थ्य, यातायातलगायत आधारभूत सेवाको समान पहुँच सुनिश्चित गर्न सके ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवन सहज हुने धारणा व्यक्त गरेका छन्।
अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुँदै सांसद साम्पाङले राज्यबाट उपलब्ध हुने सेवा तथा सुविधाको असमान वितरणका कारण आधारभूत आवश्यकता पूरा गर्नसमेत दुर्गम क्षेत्रका नागरिकले कठिनाइ भोग्नुपरेको बताए। शिक्षा, स्वास्थ्य र यातायातजस्ता सेवा सहर केन्द्रित हुँदा ग्रामीण क्षेत्रबाट बसाइँसराइ बढिरहेको उल्लेख गर्दै उनले आवश्यक सेवासुविधा सबै क्षेत्रमा उपलब्ध गराउन सके नागरिक जुनसुकै स्थानमा पनि सहज रूपमा बस्न सक्ने बताए।
सांसद साम्पाङले हुम्लाका नागरिकले जोखिम मोलेर तुइनको सहायताले नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धतासमेत जनाएका छन्। सर्केगाड गाउँपालिका–२ स्थित खडीखेतमा कर्णाली नदी पार गर्न स्थानीयवासीले तुइन प्रयोग गर्नुपरेको विषय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उनले उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्। उनको हुम्ला भ्रमणलाई यसै पुल निर्माणको विषयसँग जोडेर हेरिएको छ।
खडीखेतमा झोलुङ्गे पुल निर्माणका लागि कादुरी नामक गैरसरकारी संस्थामार्फत काम अघि बढाउने प्रक्रिया तय भइसकेको बताइएको छ। यद्यपि, निर्माण कार्य कहिलेदेखि सुरु हुन्छ र स्थानीयवासीले तुइनबाट नदी पार गर्नुपर्ने जोखिमपूर्ण अवस्था कहिलेसम्म अन्त्य हुन्छ भन्ने विषय अझै चासोको केन्द्रमा छ। पुल निर्माणको प्रक्रिया अघि बढ्नु सकारात्मक भए पनि त्यसलाई समयमै सम्पन्न गरी नागरिकलाई सुरक्षित आवागमनको व्यवस्था गर्नु मुख्य चुनौती देखिएको छ।
दुर्गम हिमाली जिल्ला हुम्लामा सडक, पुल तथा अन्य आधारभूत सेवासुविधाको अभावका कारण स्थानीयवासीले वर्षौंदेखि सास्ती भोग्दै आएका छन्। विशेषगरी नदी वारपार गर्न सुरक्षित पुल नहुँदा दैनिक आवतजावत, शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक कामका लागि नागरिकले जोखिम उठाउनुपर्ने अवस्था छ। यस्तो परिस्थितिमा झोलुङ्गे पुल निर्माण र आधारभूत सेवाको विस्तारले स्थानीयको जनजीवन सहज बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






