काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष उदयनारायण बरालको अध्यक्षतामा मंगलबार सम्पन्न सभाले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन तथा उक्त आर्थिक वर्षको लेखापरीक्षण गरिएको वित्तीय विवरण स्वीकृत गरेको छ । साथै, संस्थाको प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफाहरू संशोधन गर्ने प्रस्तावसमेत सभाबाट पारित भएको छ ।
यसैगरी, आर्थिक वर्ष २०८३/०८४ का लागि ए.बि.एस. एण्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स, काठमाडौंलाई संस्थाको वैधानिक लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको छ । सभामा सहभागी शेयरधनीहरूले संस्थाको आगामी प्रगति, उन्नति तथा संस्थागत विकासका लागि शुभकामना व्यक्त गर्दै वित्तीय सेवाको विस्तार र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।
कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएर सञ्चालनमा रहेको गुराँस लघुवित्त वित्तीय संस्थाले प्रदेशका १३ जिल्लामा ३६ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाका अनुसार, हाल २५ हजारभन्दा बढी परिवार वित्तीय सेवाबाट लाभान्वित भइरहेका छन् ।
ग्रामीण तथा विपन्न समुदायलाई वित्तीय सेवाको पहुँचमा जोड्ने उद्देश्यसहित अघि बढिरहेको संस्थाले आफ्नो शाखा सञ्जालमार्फत वित्तीय पहुँच विस्तार गर्नुका साथै स्थानीय समुदायको आर्थिक गतिविधिमा सहयोग पुर्याउँदै आएको छ । आगामी दिनमा सेवाको गुणस्तर अभिवृद्धि गर्दै थप प्रभावकारी वित्तीय सेवा प्रदान गर्नु संस्थाका लागि महत्त्वपूर्ण हुने देखिन्छ ।






