हिमांशु राय – मोरङ । मोरङ, बेलबारीका स्रष्टा केशु विरही तथा नवराज पोखरेल ‘नवशिला’ का दुई बाल साहित्यिक कृति एक साथ लोकार्पण गरिएका छन् । सुन्दरहरैँचा-१०, मोरङमा रहेको रोजाइ इनोभेटिभ स्कुलको सभाहलमा आयोजित कार्यक्रममा विरहीको ‘उपहार’ बाल चित्रकथा र नवशिलाको ‘परी भए म’ बाल कवितासङ्ग्रह कृतिको एकैसाथ लोकार्पण गरिएको हो ।
विद्यालयका १०१ जना बालबालिकाका हातबाट दुवै कृतिको लोकार्पण गरिएको थियो । यी कृतिलाई कोसी साहित्य–कला परिषद् नेपालले प्रकाशनमा ल्याएको हो ।
अग्रज स्रष्टा तथा भाषाविद् अमृतप्रसाद आचार्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा लोकार्पित दुवै कृतिमाथि कवि तथा आख्यानकार छवि वैरागी घिमिरेले समीक्षा प्रस्तुत गरेका थिए ।
कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरहीद्वारा अभियानको औचित्यका बारेमा प्रस्ट पारिएको उक्त कार्यक्रममा रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक एवम् सामाजिक व्यक्तित्व महेश आचार्य तथा मुक्तककार नवराज नवशिलाले आआफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा ‘परी भए म’ भित्रका रचनालाई बालबालिकाले साङ्गीतिक रूपमा प्रस्तुतसमेत गरेका थिए ।
२०८३ सालको पूरै समयलाई आफूहरूले बालबालिकाका लागि प्रदान गर्ने उद्घोष गरेअनुसारका कार्यक्रमको आयोजना गर्दै आएको, यी दुवै कृति पनि सोही अभियानका क्रममा प्रकाशनमा आएका लेखक विरहीले जानकारी थिए । साथै विरहीले कोसी साहित्य–कला परिषद् नेपालले पनि बालबालिकामा पठन संस्कृति अभिवृद्धिका लागि सरोकारवाला निकायसँग जोडिएर विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको बताए ।
रोजाइ इनोभेटिभ स्कुलमा निर्देशक महेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने कोसी साहित्य–कला परिषद् नेपालका कोषाध्यक्ष चिरञ्जीवी काफ्लेको रहेको थियो ।






