भक्तपुर। लागूऔषध बिक्री–वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले भक्तपुरको मध्यपुर थिमि नगरपालिका–७ बाट विभिन्न प्रकारका लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार असोज ५ गते अपराह्न करिब ४ः३० बजे खटिएको प्रहरी टोलीले मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भई हाल मध्यपुर थिमि–७ बस्दै आएका २६ वर्षीय बिकेश मगरलाई पक्राउ गरेको हो।
प्रहरीले मगरको साथबाट ट्रामाडोल ३३० क्याप्सुल, नाइट्राभेट ३० पिस, ड्राइजिपाम १३ पिस, नोफिन १३ पिस र फेनेरागन १३ पिस बरामद गरेको जनाएको छ।
पक्राउ परेका मगरविरुद्ध लागूऔषधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ। जिल्ला अदालत भक्तपुरबाट असोज ६ गते १० दिनको म्याद थप अनुमति लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरले असोज ६ गते जारी गरेको प्रेस विज्ञप्तिमा सूचना अधिकारीका रूपमा प्रहरी नायव उपरीक्षक दिपक कुमार कार्कीले जानकारी दिएका छन्।





